हाम्रो देश
८ बैशाख २०७८, बुधवार

माओवादीमा प्रचण्डलाई सहयोग गर्ने नेता भएनन्, जताततै एक्लै दौडधुप

काठमाडौं ।    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो राजनीतिक दौडधुप हेर्दा उनलाई साथ दिने नेताहरु नभएको प्रष्ट देखिन्छन् ।

राजनीतिक समीकरणका लागि कांग्रेस र जसपाका नेताहरुसँगको भेटघाट होस वा आफ्नै जनवर्गीय संगठनहरुलाई मिलाउनेसम्मको काममा प्रचण्डबाहेकका नेताहरुको सक्रियता देखिएका छैनन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई व्यूँताइदिएपछि उनी अहिले केपी शर्मा ओली नेतृत्वलाई विस्थापित गर्ने र नयाँ सत्ता समीकरण बनाउने योजनामा छन् । त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, बाबुराम भट्टराईसँग बाक्लो भेटघाट गरेका छन् ।

अन्य पार्टीका शीर्ष नेताहरु मात्र नभएर प्रचण्डले अन्य दलका दोस्रो बरियताका नेताहरुसँग पनि छलफल चलाइरहेका छन् ।

राष्ट्रिय राजनीतिमा उनी एक्लै दौडधुपमा देखिन्छन् । त्यस्तै, पार्टीका नेताहरुको गुनासो, जनवर्गीय संगठन, मोर्चाहरुलाई मिलाउने सवालमा पनि प्रचण्ड एक्लैले छलफल चलाइरहेका छन् ।

माओवादी केन्द्रकै युवा, महिला, शिक्षक, कर्मचारी लगायत सबै जनवर्गीय संगठनमा प्रचण्डबाहेकले समस्याको समाधान गर्न नसकेको स्रोतले बताएको छ । विगतमा जनवर्गीय संगठन, मोर्चामा मिलाउने काम कृष्णबहादुर महराले गर्थे । तर, अहिले महरा निष्कृय छन् ।

पछिल्लो समयमा पनि नेपाल पत्रकार महासंघको निर्वाचनमा समेत कोसित मिलेर अघि बढ्ने भन्ने विषयमा प्रचण्डले सक्रियता देखाउनुपरेको थियो । पत्रकार महासंघमा समीकरणका लागि अन्य दल निकट पत्रकारहरुसँग पनि उनले नै छलफल गर्नु परेको थियो ।

प्रचण्डबाहेकका अन्य नेतालाई पार्टीभित्रै पनि र अन्य पार्टीसँगको छलफलमा पनि नपत्याउने कारण उनको दौडधुप बढेको स्रोतको भनाइ छ । माओवादीका नेताहरु स्वार्थ केन्द्रीत भएको आरोप समेत लाग्दै आएको छ । त्यसैले पनि आफ्नै पार्टीका नेता कार्यकर्ताहरुले प्रचण्डबाहेकका नेतालाई विश्वास गर्न सकिरहेका छैनन् ।

पार्टी छाडेर गएका नेताहरुलाई फर्काउन होस वा अन्य पार्टी छाडेर आउनेहरुका लागि पनि प्रचण्डबाहेकका नेताले भनेको विश्वास नमान्ने परिस्थिति माओवादीमा विकास हुँदै गएको एक नेताले बताए ।

प्रतिकृया दिनुहोस्