हाम्रो देश
५ बैशाख २०७८, आइतवार

एमाले र माओवादी केन्द्र एक्ला-एक्लै निर्वाचन लडेका भए के हुन्थ्यो परिणाम?

२०७४ को संघीय तथा प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले चुनावी गठबन्धन गरेका थिए।

त्यही गठबन्धनका कारण संघीय संसदका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये एमाले ८० र माओवादीले ३६ सहित १ सय १६ क्षेत्रमा विजय हासिल गरेका थिए।

प्रत्यक्ष र समानुपातिक गरी एमाले-माओवादी गठबन्धनले झन्डै दुई तिहाइ बहुमत ल्याएको थियो। त्यही बहुमतका आधारमा २०७४ फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री बने।

२०७५ जेठ ३ गते दुई पार्टीको एकता भएर नेकपा गठन भयो। पार्टीभित्रको अन्तरसंघर्षका कारण प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गरे।

२०७७ फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई खारेज गर्‍यो। अर्कोतिर फागुन २३ गते सर्वोच्चले एमाले-माओवादी एकता भएर गठन भएको नेकपा खारेज गरिदियो। एमाले र माओवादी केन्द्रलाई पुर्ववत्: रूपमा ब्युँताइदियो।

एमालेभित्रको विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्। यसले अर्को चुनावसम्म एमाले नै एक रहने वा नरहने भन्नेमा गहिरो शंका उत्पन्न भएकोछ। यसले आउने चुनावमा कस्तो प्रभाव पार्छ अहिल नै एकिनसाथ भन्न सकिन्न।

तर पनि गएको संसदीय निर्वाचनको परिणाम विश्लेषण गर्ने हो भने त्यसले हामीलाई एउटा तस्बिर दिन्छ। त्यो निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन नभएको भए कस्तो परिणाम आउँथ्यो होला?

त्यस्तै, पछिल्लो निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले समानुपातिकतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कति-कति मत पाएका थिए र ती निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कसले जितेको थियो भन्नेले पनि यो विश्लेषणमा धेरै सघाउ पुग्छ।

हुन त गत निर्वाचनमा प्राप्त समानुपातिक मत र प्रत्यक्ष रूपमा आउने मतलाई मात्रै आधार मानेर निर्वाचनको मूल्यांकन गर्न सकिँदैन। किनकी उम्मेदवारको व्यक्तिगत छवि, तात्कालिन राजनीतिक परिस्थिति र वातावरणलगायत विषयले चुनावको माहोललाई प्रभाव पार्छ। तर पनि समानुपातिक मतले त्यो निर्वाचित क्षेत्रमा पार्टीको राजनीतिक आधार भने देखाउँछ।

गएको निर्वाचनमा एमाले र माओवादीका बीचमा चुनावी गठबन्धन हुँदा त्यसको सबैभन्दा ठूलो घाटा नेपाली कांग्रेसलाई भएको छ। त्यस्तै त्यसको सबैभन्दा ठूलो लाभ माओवादी केन्द्रलाई भएको देखिन्छ। तीन वटा पार्टी छुट्टाछुट्टै लडदा एमालेले खासै धेरै घाटा पर्ने देखिन्न।

२०७४ को असोजमा एमाले-माओवादी गठबन्धन हुँदै गर्दा कांग्रेस-माओवादी गठबन्धनको सरकार थियो। एमाले-माओवादीको चुनावी गठबन्धन नभएको भए कांग्रेस-माओवादी गठबन्धन बन्ने निश्चितजस्तै थियो। यस्तो अवस्थामा सबैभन्दा ठूलो नाफा कांग्रेसलाई हुन्थ्यो भने सबैभन्दा ठूलो घाटा एमालेलाई हुने निश्चित थियो।

गत चुनावमा एमालेले प्रत्यक्षतर्फ ८० ठाउँमा निर्वाचन जितेको थियो। कुनै पनि दलहरूको बीचमा गठबन्धन नभएको भए एमालेको केहीमात्र सिट घट्ने समानुपातिकतर्फको चुनाव परिणामले देखाउँछ। किनकी समानुपातिकतर्फ ७७ ठाँउमा सबैभन्दा धेरै मत एमालेले नै ल्याएको थियो।

कांग्रेसले गत निर्वाचमा प्रत्यक्षतर्फ २३ स्थानमा जितेको थियो। जबकी समानुपातिकतर्फको मतलाई आधार मान्ने हो भने कांग्रेस ५३ वटा निर्वाचन क्षेत्रमा अगाडि छ। त्यसैले तीन वटै पार्टी छुट्टछुट्टै लडेका भए कांग्रेसले थप २० वटा जति सिटमा जित हासिल गर्न सक्थ्यो।

एमाले र माओवादीबीचको गठबन्धनले सबैभन्दा ठूलो फाइदा भने माओवादीलाई भएको देखिन्छ। माओवादी एक्लैको ११ निर्वाचन क्षेत्रमामात्रै समानुपातिकतर्फ धेरै भोट देखिन्छ। जबकी उसले गठबन्धनका कारण प्रत्यक्षतर्फ ३६ स्थानमा जित हासिल पार्‍यो।

अर्थात् समानुपातिक भोटलाई मात्र आधार मान्ने हो भने माओवादी केन्द्रले गएको चुनावमा अहिले उसले जितेको २५ क्षेत्र गुमाउने रहेछ।

समानुपातिकमा जुन पार्टीको धेरै मत छ, त्यही पार्टीले सबै ठाँउमा प्रत्यक्ष तर्फ पनि सिट जित्छ भन्ने पक्का भन्ने हुन्न।

उदाहरणका लागि काठमाडौं ४, ६ र मोरङ १ लाई हेरौं। यी तीनै निर्वाचन क्षेत्रमा एमाले एक्लैको समानुपातिकतर्फ अरू पार्टीभन्दा धेरै भोट छ। तर यी तीनै क्षेत्रमा माओवादीसँग मिलेर पनि एमाले-माओवादीले चुनाव जित्न सकेनन्। तीनै ठाउँमा कांग्रेसका उम्मेद्वारले चुनाव जिते।

मोरङ क्षेत्र नं १ मा समानुपातिकतर्फ कांग्रेस भन्दा झन्डै ५ हजार मतले एमाले अगाडि छ। ६ हजार ३ सय भोट माओवादीले समेत पाएको छ। तर यही क्षेत्रमा कांग्रेसका मीनेन्द्र रिजालले एमालेका ऋषिकेश पोखरेललाई १८ सय मतले हराए।

काठमाडौं क्षेत्र नं ४ मा समानुपातिकतर्फ कांग्रेसले भन्दा एमालेले झन्डै ४ सय मत धेरै ल्याएको छ। त्यस्तै २४ सय मत माओवादीको रहेको छ। तर कांग्रेसका गगन थापाले एमालेका राजन भट्टराइलाई ३ हजारभन्दा बढी मतले हराए।

काठमाडौं क्षेत्र नं ६ मा नेपाली कांग्रेसका भीमसेनदास प्रधानले माओवादी उम्मेदवार झक्कुप्रसाद सुवेदीलाई १३ सय मतले पछि पारे। प्रधानले १६ हजार ७ सय ८५ मत पाएका थिए भने माओवादी केन्द्रका झक्कु सुवेदीले १५ हजार ४ सय ८५ मत पाए।जबकी यो क्षेत्रमा एमालेको समानुपातिक मत १४ हजार ३१ रहेको छ भने माओवादीको ३ हजार ६ सय ४४ रहेको छ। कांग्रेसको समानुपातिक मत ११ हजार ४ सय ८८ आएको थियो।

तर चुनावी गठबन्धनको ठूलो फाइदा माओवादी र कतिपय साना पार्टीहरूलाई प्राप्त भयो।

जस्तै झापा क्षेत्र नं ३ मा कांग्रेसका कृष्णप्रसाद सिटौला राप्रपाका राजेन्द्र लिङदेनसँग १३ हजारभन्दा बढीको अन्तरले पराजित भए। त्यो क्षेत्रमा कांग्रेस कमजोर भएर उनी पराजित भएका होइनन्। सिटौलाविरूद्ध सबै प्रमुख पार्टी एक ठाउँमा भएर उनले हारेका हुन्।

देशैभरि कांग्रेससँग चुनावी तालमेल गरेको राप्रपाले मेची अञ्चलमा एमाले-माओवादीसँग तालमेल गर्‍यो। झापाका सबै क्षेत्रमा समानुपातिक मतलाई आधार मान्ने हो भने एमाले पहिलो छ। तर यो क्षेत्रमा कांग्रेसको मत अरू पार्टीको भन्दा धेरै छ। झापा-३ मा कांग्रेसको समानुपातिक मत २५ हजार ७ सय १५ छ। एमालेको समानुपातिक मत १९ हजार ८ सय २९, राप्रपाको १६ हजार १ सय ६८ र माओवादी केन्द्रको ६ हजार ४ सय ८८ छ। सबै दल छुट्टाछुट्टै निर्वाचन लडेको भए सिटौलाले निर्वाचन सहजै जित्न सक्ने अवस्था थियो।

कञ्चनपुर क्षेत्र नं २ मा एमालेका नरबहादुर धामी ३३ हजार २ सय २० मत ल्याएर विजयी भए। नेपाली कांग्रेसका एनपी साउदले २४ हजार ८ सय ९३ मत ल्याएका थिए। यो क्षेत्रको समानुपातिक मतलाई आधार मान्ने हो भने ६ सय मतले कांग्रेस अगाडि छ। सँगै माओवादीको समानुपातिक मत ९ हजार छ। मतान्तरलाई आधार मान्ने हो भने माओवादीकै मत निर्णायक भएको स्पष्ट देखिन्छ।

त्यस्तै कञ्चनपुर क्षेत्र नं ३ मा नेकपा एमालेका दीपकप्रकाश भट्टले २६ हजार ३ सय ६४ मत ल्याएर विजय हासिल गरे। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रमेश लेखकले २६ हजार १ सय ६ मत ल्याएका थिए।

जबकी यो क्षेत्रको समानुपातिकतर्फ कांग्रेसको मत एमालेको भन्दा ३ हजार धेरै छ। सँगै माओवादीले साढे ५ हजार मत पाएको छ। माओवादीको मतले एमाले उम्मेदवार विजयी भएको तथ्यांकले स्पष्ट पार्छ।

कञ्चनपुर क्षेत्र नं १ मा माओवादीकी विना मगर विजयी भएकी थिइन्। यो क्षेत्रमा भने समानुपातिकतर्फ पनि माओवादी नै अगाडि छ।

माओवादीको मत पाएर एमालेले मात्रै जितेको भने होइन। एमालेको मत पाएर माओवादीले जितेको सूची झन् धेरै छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै एमालेको मत पाएर निर्वाचन जितेका हुन्। उनले चितवन क्षेत्र नं ३ मा ४८ हजार २ सय ७६ मत पाएका थिए। उनका निकटतम् प्रतिद्वन्दी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत पाएका थिए ।यो क्षेत्रमा नेपाली कांग्रेसले राप्रपालाई समर्थन गरेको थियो।

समानुपातिक मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा सबैभन्दा धेरै मत कांग्रेसको छ। कांग्रेसले २६ हजार १ सय ३७ मत पाएको छ भने एमालेको २४ हजार १ सय ५५ मत छ। माओवादी केन्द्रले २२ हजार ९ सय ८८ मत ल्याएको छ। राप्रपा प्रजातान्त्रिकले ५ हजार ६ सय ३३ मत ल्याएको छ।

समानुपातिक मतलाई आधार मान्ने हो भने जाजरकोटमा सबैभन्दा धेरै मत नेपाली कांग्रेसले ल्याएको छ। कांग्रेसको २० हजार ४ सय ८६ मत छ भने एमालेको १७ हजार ६ सय ७१ र माओवादीको १३ हजार ५ सय ७१ छ।

एमाले र माओवादी गठबन्धनका कारण माओवादी उम्मेदवार शक्तिबहादुर बस्नेतसँग कांग्रेसका राजिवविक्रम शाह ९ हजार मतले पराजित भए। बस्नेतको प्रत्यक्ष मत ३२ हजार २ सय ८१ थियो भने शाहको २३ हजार २ सय ८९ थियो।

गठबन्धनका कारण कतिपय माओवादी उम्मेदवारलाई चिट्ठा नै परेजस्तो भयो।

निर्वाचन क्षेत्र भाग लगाउने क्रममा एमालेभन्दा निकै कमजोर भएको ठाउँमा समेत माओवादी उम्मेदवार विजयी भए।

जस्तो, भोजपुरमा एमालेको समानुपातिक मत २५ हजार ९९ आएको छ। कांग्रेसले १५ हजार ७ सय १० मत पाएको छ भने माओवादी केन्द्रले ११ हजार १ सय ५४ मत पाएको छ। एमाले-माओवादी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी उम्मेदवार सुदन किरातीले ३४ हजार ३ सय ९४ मत ल्याएर विजय हासिल गरे। उनले काग्रेस उम्मेदवार उमेशजंग रायमाझीलाई झन्डै १३ हजार मतले पछि पारेका थिए।

मोरङ ४ मा माओवादीको समानुपातिक मत ४ हजार ७ सय ५३ मात्रै छ। तर यसका उम्मेदवार अमनलाल मोदीले भने झन्डै ५ गुणा बढी मत ल्याए अर्थात् मोदीले ३३ हजार ५ सय २९ मत पाए। जबकी यो क्षेत्रमा समानुपातिकतर्फ कांग्रेसको सबैभन्दा धेरै २३ हजार ५ सय ३४ मत आएको छ। दोस्रोमा रहेको एमालेले २० हजार ६ सय ५८ मत पाएको छ। प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवार महेश आचार्यले २६ हजार ८ सय मत पाएका थिए।

प्रदेश २ का ३२ निर्वाचन क्षेत्रमा तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच चुनावी गठबन्धन बनेको थियो। ती दुई दलको बीचमा गठबन्धन नबनेको भए कांग्रेसले अझै केही क्षेत्रमा निर्वाचन जित्न सक्ने सम्भावना रहेछ। यो सम्भावना एमाले र माओवादीको हकमा भने धेरै थिएन।

प्रतिकृया दिनुहोस्