हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

प्रधानमन्त्रीपत्नी राधिका शाक्यकाे अनुभूतिमा एमालेभित्रका उतार-चढाव

काठमाडौं- सौम्य र शालीन देखिन्छिन् प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य । राष्ट्र बैंककी कर्मचारी रहेकी उनी त्यति राजनीतिक कुरा गर्दिनन् । तर उनको पृष्ठभूमी भने राजनीति नै थियो । यसै कारण पनि संगठनमा सक्रिय रहेका बेला ओलीसँग उनको बिहे भएको थियो ।

ओली राजनीतिको उकालो ग्राफतिर चढेपछि शाक्य पारिवारिक जीवन र जागिरतिर व्यस्त भइन् । तैपनि राजनीतिलाई उनले नजिकबाट नियाँलिरहेकी थिइन् ।

त्यसैले त केही महिनाअघि नेकपा विवाद चलिरहेका बेला उनले भनेकी थिइन्,‘ओलीजीलाई कुनै तनाव छैन । प्रचण्ड-माधव नेपालहरूलाई कति तनाव ? दिनैपिच्छे भेटेको छ, कुरा गरेको छ । टाउको दुखाएको छ ।’ विवाद चरम उत्कर्षमा रहेका बेला उनले बालुवाटार परिसरमा यस्ताे बताएकी थिइन् ।

यद्यपि, ओलीका नजिक र टाढा रहेका मानिसहरूबारे शाक्य जानकार छिन् । एमाले नेता माधव नेपालले पहिलादेखि नै पेलेको मात्र नभई सम्बन्ध चिसो राखेको विषयमा झनै मज्जाले बुझ्छिन् । त्यसैले त उनको संस्मरणमा पनि नेपालले ओलीबारे राखेका कतिपय धारणाले चित्त दुख्ने विषय उल्लेख गरेकी छन् ।

‘राजनीतिमा उहाँको रुचि छ । स्वभाविकरूपमा प्रथम महिला भएका कारणले त्यस्तो रुचि राख्नुपर्छ’, शाक्यबारे जानकार भन्छन्, ‘तर शालीन हुनुहुन्छ, प्रधानमन्त्रीका लागि निक्कै केयरटेकर हुनुहुन्छ ।’

शाक्यको साथका कारण नै ओलीले पुनर्जीवन पाए र एमाले हुँदै मुलुकमा एउटा नयाँ शक्तिका रूपमा तेजिलो गतिमा उदाए । तर यहाँसम्म आउँदा निक्कै दुख र मन मिच्ने अनुभव रहेको शाक्यले उल्लेख गरेकी छन् ।

उनले पुस्तकको एउटा अंशमा लेखेकी छन्,‘नेपाल टेलिभिजनको आजको एउटा अन्तर्वार्तामा एमालेका नेता जगन्नाथ खतिवडाको कुरा सुनेँ । उनले केपी ओली मर्न मात्र बाँकी भएको, तुरुन्तै मरिहाल्ने, महाधिवेशनमा यस्तालाई नेतृत्व दिनु हुँदैन आदि आदि कुरा गरेर पार्टीका कार्यकर्तालाई माधव नेपालतिर आउन भनेका रहेछन् । केपीजीको स्वास्थ्यलाई लिएर भइरहेको राजनीति देख्दा मलाई साह्रै दुःख लाग्यो ।’

एमालेभित्रको राजनीतिक समीकरणको विषय मात्र नभएर ओलीको स्वास्थ्य जटिल भएका बेलामा यस्ता कामले उनको आँखा रसाउने गरेको पनि सुनाएकी थिइन् ।

उनले भनेकी छन्,‘माधव नेपाल, जसको सधैँभरि पार्टीको उपल्लो स्थानमा रहेर आफ्ना आसेपासेलाई सधैँ अवसर दिने र अलिकति मात्र असहमति जनाउनेलाई जिन्दगीभर उठ्न नदिने प्रवृत्ति थियो । आफूलाई प्रधानमन्त्री बन्न, टिकाउन र महासचिव बनाउन ठूलो सहयोग गर्ने साथीप्रतिको उहाँको व्यवहार हेर्दा र भनाइहरू सुन्दा मात्र पनि दिक्क लाग्छ ।’

त्यसबेला एमालेमा रहेका नेकपाका अध्यक्ष ऋषिराम कट्टेलले पनि माधव नेपालको स्वार्थका विषयमा उल्लेख गरेका थिए । यति मात्र नभएर नेकपा मालेका महासचिव सीपी मैनालीले पनि नेपालको राजनीतिक चरित्रबारे प्रश्न गरेका थिए ।

यसै मेसोमा शाक्यको अनुभव छ,‘नेपालको एकल महासचिवको पार्टी ब्युरोक्रेसीले चाकरी गर्नेलाई अवसर दिलाउन र फरक मत राख्नेलाई बोल्न समेत प्रतिबन्ध लगाउने गथ्र्याे । यसरी तेस्रो कार्यकालसम्म पार्टीको नेतृत्व गर्नुभएका उहाँ एक पटक पनि पार्टीको नेतृत्व नगर्नुभएका केपीजीमाथि महाधिवेशनको मुखमा स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि आक्रमणमा उत्रनुभयो । यसबाट दुःखी हुनु बाहेक के गर्न सकिन्छ र ?’

राजनीतिमा ओलीको उदय संघर्षले नै गरेको थियो । पार्टीभित्र कर्नरमा रहे पनि प्रभावशाली नेताका रूपमा उनले युवा पंक्तिको साथ पाएका थिए । यसरी नै उनी नेतृत्वमा उदाएका थिए ।

संसदीय दलको नेता हुँदै पार्टी महाधिवेशनपछि अध्यक्षसम्म भएका उनी सक्रियताका लागि बिरामी भएकै दिन उठेका बेला शाक्यका आँखा हर्षले रसाए । उनले भनेकी छन्, ‘धेरै दिनपछि २६ जेठ २०७१ को दिन काठमाडौंको कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने भनेर उहाँले दौरा सुरुवाल, कोट र टोपी लगाउन खोज्नुभयो । यसबेला मेरा आँखाबाट हर्षका आँसु बग्न थाले । मलाई उहाँले यसरी दौरा सुरुवाल लगाउन पाउनु होला जस्तो लागेको थिएन ।’

प्रतिकृया दिनुहोस्