हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

‘पुत्रशोकमा रोइरहेको तस्बिर राखेर घोचपेच गर्न कसरी सकेका होलान्’

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छोराको निधनले भावविह्वल भइरहेका बेलाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर सामाजिक सञ्जालमा राखेर घोचपेच गरेकोप्रति विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले पनि आश्चर्य व्यक्त गरेका छन्।

नेकपा खारेजको फैसलाविरुद्ध प्रचण्डले दिएको पुनरवलोकन मुद्दा बिहीबार सर्वाेच्च अदालतले अस्वीकार गरेपछि एमाले केन्द्रीय सदस्यसमेत रहेका ओलीका प्रेस सल्लाहकार थापाले छोरा प्रकाश दाहालको निधन भएका बेला प्रचण्ड रोइरहेको तस्बिर ट्विटमा राखेर कटाक्ष गरेका थिए। तर व्यापक विरोध भएपछि थापा आफ्नो अमानवीय पोस्ट हटाउन बाध्य भएका थिए। त्यसको स्क्रिनसट भने अहिले पनि भाइरल भइरहेको छ।

यसै प्रसंगमा विवेकशील साझा पार्टीका प्रवक्ता पाठकले पनि विरोध जनाएका हुन्। ‘पचण्ड पुत्रको निधनले दुःख लागेर मैले चितवन क्षेत्र नम्बर ३ मा सो दिन र भोलिपल्ट चुनावी प्रचार स्थगित गरेको थिएँ,’ पाठकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुत्रशोकले विह्वल भएर प्रचण्ड रुँदाको फोटो राखेर प्रमका सल्लाहकार, उनका पूर्वसहकर्मी नेताले घोचपेचयुक्त ट्विट लेखेछन्, कसरी सक्छन्!’ उनले अगाडि लेखेका छन्, ‘सुसंस्कृत राजनीति आजको आवश्यकता।’

प्रतिकृया दिनुहोस्