हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

कृष्णप्रसाद भट्टराईको त्यो भाषण– अब म पानी ल्याउँछु, त्यही मेलम्चीको पानी (भिडियोसहित)

काठमाडौं : पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी ल्याउँछु भनेर गरेको भाषणको अडियो र भिडियो सार्वजनिक भएको छ । नेपाली कांग्रेसले बिहीबार भट्टराईले मेलम्चीको पानी ल्याउने घोषणा गरेको भिडियो सार्वजनिक गरेको हो ।

‘अब म पानी ल्याउँछु, त्यही मेलम्चीको पानी’, भट्टराईले भिडियोमा भनेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कृष्णप्रसादको सपना पूरा भएको भन्दै सबैलाई बधाई दिएका छन् । परियोजनाको भविष्य सुरक्षित र सफल बनाउन सबैको साझा प्रतिबद्धता, एक्यवद्धता र साथका लागि समेत शर्माले अपील गरेका छन् ।

‘नेपाली कांग्रेसका तत्कालीन सभापति एवं तत्कालीन प्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईले काठमाडौंको खानेपानी समस्या समाधान गर्न मेलम्ची नदीको पानी ल्याउने उद्घोष गरेको परियोजना अन्तत आजको समयमा साकार हुन पुगेको छ ।

यो घडी नेपाली कांग्रेस सन्त नेता भट्टराईप्रति उच्च सम्मान प्रकट गर्दै काठमाडौ उपत्यकाबासीमा विशेष बधाई ज्ञापन गर्दछ’, शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेलम्ची परियोजनाको सफलताले काठमाडौंको पानी संकट हल गर्न महत्वपूर्ण योगदान त पुर्‍याउँदैछ नै संगैमा यो सफलताले देशको समृद्धिका लागि आधुनिक प्रविधि र अझ नविन परियोजनाहरुका लागि थप मार्गप्रशस्त समेत गरेको छ ।

नेपाली कांग्रेसको सरकारले सुरु गरेको परियोजना अनेक प्रतिकुलता चिर्दै सफल हुन निश्चय नै दुई दशक भन्दा बढि समय लाग्यो, तर यो सफलता उपत्यकालाई संगै पुरै देशका लागि हर्ष र गौरवको घडी बनेको छ । यो घडीमा सन्त नेता किसुनजीलाई संगै यसको सुरुआतदेखि सफलतासम्म सरिक सबैलाई हामी सम्मानपूर्वक स्मरण गर्दछौं ।’

प्रतिकृया दिनुहोस्