हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

ओलीविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा हाल्ने तयारी गर्दै नेपाल समूह

पार्टीबारे सर्वाेच्च अदालतले गरेको फैसला कार्यान्वयन नगरेको भन्दै नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा हाल्ने तयारी गरेको छ।

स्रोतका अनुसार नेपाल पक्षले आफूनिकट कानुन व्यवसायी तथा नेताहरूसँग छलफल गर्दा उनीहरूले ओलीविरुद्ध अवहेलना मुद्दा हाल्न सुझाव दिएका हुन्।

ncell
पार्टीको नामसम्बन्धी विवादमा ऋषि कट्टेललेले निर्वाचन आयोगमा पहिले दर्ता आफ्नो नेकपाले मान्यता पाउनुपर्ने माग गर्दै २ वर्षअघि हालेको मुद्दामा सर्वाेच्च अदालतले गत फागुन २३ गते कट्टेलकै पक्षमा फैसला गर्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा अमान्य भनेको थियो। साथै त्यही दिनदेखि एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएको फैसला पनि सर्वाेच्चले गरेको हो।

त्यसअनुसार एमाले पार्टी २०७५ जेठ ३ अर्थात् माओवादी केन्द्रसँग एकीकरणअघिकै अवस्थामा फर्किएको तर अध्यक्ष ओलीले एकलौटी निर्णय गरेर फैसला कार्यान्वयन नगरेको नेपाल पक्षको आरोप छ। फैसलाको ५ दिनपछि अर्थात् फागुन २८ गते ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूको मात्र बैठक राखेर माधव नेपाल–झलनाथ खनाल पक्षका सबै पद र जिम्मेवारी खोस्ने निर्णय मात्र गरेनन्, गृहममन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्यसमेत बनाएका छन्।

अध्यक्ष ओलीले अबदेखि एमालेमा अध्यक्ष (आफू) र महासचिव (ईश्वर पोखरेल) पदबाहेक अन्य सबै सदस्य रहने निर्णय गरेपछि एमालेमा उपाध्यक्ष रहेका वामदेव गौतम, भीम रावललगायत तथा उपमहासचिव रहेका घनश्याम भुसाल, सचिव रहेका योगेश भट्टराईलगायत सबैको पद बर्खास्त भएको छ। उसो त विवाद बढ्दै जाँदा अध्यक्ष ओलीले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई त ६ महिनाका लागि पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरिसकेका छन्।

जबसम्म एमाले २०७५ जेठ २ को अवस्थामा फर्काइँदैन, तबसम्म सहमति हुँदैन भनेर नेपाल पक्षले समानान्तर कमिटीहरूको बनाइरहेको छ भने आज राष्ट्रव्यापी अभियान घोषणा गर्ने तयारीमा छ।

यसरी अध्यक्ष ओलीले फागुन २३ गते अदालतले गरेको फैसलाअनुसार पार्टीको संरचना स्वीकार नगरेकाले उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दिने तयारी नेपाली पक्षले गरेको बताइएको छ।

ओली यसअघि नै अदालतको अवहेलना मुद्दा खेपिरहेका छन्। संसद् विघटनका बेला दिएको अभिव्यक्तिका कारण उनीविरुद्ध अदालतको अवहेलना मुद्दा परेको थियो।

प्रतिकृया दिनुहोस्