हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

खनाल निवासमा राष्ट्रपति भण्डारी : पार्टी आन्दोलनबारे चिन्तित

काठमाडौं :    राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानन्त्री झलनाथ खनालसँग भेट गरेकी छन्। शनिबार दिउँसो राष्ट्रपति भण्डारी खनाललाई भेट्न उनकै निवास डल्लु पुगेकी हुन्। निवासमा भेट गर्न राष्ट्रपति पुगेको भन्दै खनालले खुसी व्यक्त गरेका छन्।

राष्ट्रपतिसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै खनालले वर्तमान परिस्थिति र पार्टी आन्दोलनसँगै समसामयिक विषयमा छलफल भएको जानकारी दिए।

‘हामीले भलाकुसारी गरेका छौँ। विगत र वर्तमानको स्थितिबारे अलिअलि कुरा भयो’, खनालले पत्रकारसँग भने, ‘उहाँले पार्टी आन्दोलन एकतावद्ध भएर जाओस् भन्ने चाहना व्यक्त गर्नुभएको छ।’ पार्टीको विगत र वर्तमानको विषयमा कुराकानी भएको भन्दै खनालले अहिले राष्ट्रपतिको हैसियतमा पनि पार्टी आन्दोलन, एकतावद्ध भएर गएको र लोकतन्त्र सुदृढ भएर गएको हेर्न चाहना रहेको बताए।

भेटमा राष्ट्रपति भण्डारीले आफ्नो स्वास्थ्य अवस्थाबारेसमेत चिन्ता व्यक्त गरेकी छन्। राष्ट्रपतिले स्वास्थ्य अवस्थाबारे चिन्ता गरेपछि आफ्नो स्वास्थ्य सामान्य रहेको जानकारी गराएको खनालले बताए। उनले आफू बैठक र सभाहरुमा गइरहेको र चिकित्सकको सुझावलाई ध्यानमा राखेको जानकारी गराएको बताए।

खनालले राष्ट्रपतिसँग आफ्नो भन्दा पनि पार्टीको स्वास्थ्य ठूलो भएको बताएको जानकारी दिए। ‘हाम्रो व्यक्तिगत स्वास्थ्यको बारेमा मलाई चिन्ता होइन, चिन्ता चाहिँ पार्टीको बारेमा हो’, खनालले भने। राष्ट्रपति भण्डारीले खनाललाई पार्टीलाई एकतावद्ध बनाउने भूमिका खेल्नसमेत आग्रह गरेकी छन्। खनालले भने पार्टी अध्यक्ष केपी ओलीले फागुन २८ गते गरेका निर्णय फिर्ता गरे पार्टी एक हुने प्रष्टसँग बताएको स्रोतको दाबी छ।

एमालेभित्र विवाद चर्किदै गएपछि राष्ट्रपति भण्डारीले खनालसँग भेट गरेर पार्टी आन्दोलनबारे चिन्ता गरेकी हुन्। यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस्