हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

विदेशमा ज्यान गुमाएकाहरूको शव बुझ्न आएका आफन्तसँगै बाबुराम भट्टराई पुगे विमानस्थलमा

नेताहरू प्राय: स्वदेश वा विदेशका ठाउँहरू जानुपर्दा त्रिभुवन विमानस्थल पुग्छन्। जहाज चढेर गन्तब्यमा जान्छन्, फर्कन्छन्। आइतबार भने भिन्न दृश्य देखियो। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिए। उनी कतै जाँदै थिएनन्, विमानस्थल नै गएर फर्किएका हुन्।

वैदेशिक रोजजारीमा गएका १२ जना नेपालीहरूको शव आज विमानस्थलमा आउने खबर उनले पाएका थिए। यीमध्ये दुई जना गोरखाका थियो। गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा नगरपालिका वडा नम्बर १२ का २७ वर्षीय मेघबहादुर कुँवरको शव मलेसियाबाट ल्याइएको थियो।

भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका युवाको वैदेशिक रोजगारीका क्रममा: निधन भएपछि श्रद्धाञ्जली दिन र परिवारका सदस्यहरूलाई भेट्न भट्टराई विमानस्थल पुगेको बताए।

‘सूर्य बिकजी त हाम्रो पार्टीमा पहिलेदेखि नै आवद्ध हुनुहुन्थ्यो। उहाँहरूका परिवार पनि जसपा नै हुनुहुन्छ,’ उनले भने, ‘मेघबहादुर कुँवर पनि हाम्रो नेताका आफन्त हो। यतिमात्र होइन, आफ्नै निर्वाचन क्षेत्रका युवाहरू भएकोले पनि परिवारजनलाई भेट्न उहाँ विमानस्थलमै पुग्नु भएको हो।’

भट्टराईले पनि वैदेशिक रोजगारीमा गएका १२ जना युवाको शव एकैदिन विमानस्थल आइपुगेको उल्लेख गरेका छन्। ‘कस्तो दु:खद अवस्था,’ उनले भनेका छन्, ‘शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र!’ भट्टराई हरेक महिना गोरखा जाने र निर्वाचन क्षेत्रका बासिन्दासँग कुराकानी गर्ने गर्छन्।

प्रतिकृया दिनुहोस्