हाम्रो देश
८ बैशाख २०७८, बुधवार

माओवादी नेताको घोषणाः ओलीले फेरि संसद भंग गर्छन्

काठमाडौँ – सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक लल्कारे पनि माओवादी केन्द्र लाचार बनेको छ ।
नयाँ सरकारको विकल्प दिन नसकेपछि प्रधानमन्त्री ओलीको राजीनामा माग्ने माओवादी केन्द्रसहित प्रमुख विपक्षी नेपाली कांग्रेस लगायतका दलहरु पनि निरीह बनेका छन् ।

शुक्रबार अबेर रातिसम्म बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले केपी ओलीलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको थियो ।

कांग्रेसको यो निर्णयको माओवादी केन्द्र र जसपाको एक धारले स्वागत गरेको थियो । कांग्रेसले केन्द्रीय समितिको बैठकमार्फत राजीनामा माग्ने निर्णय गरेको भोलिपल्ट हिजो प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने घोषणा गर्नुभयो ।

नेपाली कांग्रेसले ओलीलाई हटाएर आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल गर्ने निर्णय गरेपछि माओवादी केन्द्र हौसियो । अध्यक्ष प्रचण्डले कपिलबस्तबाट अब केही दिनमै नयाँ सरकार गठन हुने भन्दै कार्यकर्ताहरुलाई बधाई समेत दिनुभयो । काठमाडौँ फर्केलगत्तै नयाँ सरकार गठनका लागि घनिभूत छलफल हुने प्रचण्डको भनाइ थियो ।

तर नेपाली कांग्रेसले ओलीलाई बिदा गरेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको दुई दिन बित्दा समेत ओलीविरुद्धको गठबन्धन कसिलो बन्न सकेको छैन । बरु सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय लिन बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटि बैठक नेताहरु बाहिर रहेको कारण देखाउँदै स्थगित भयो ।

प्रधानमन्त्रीबाट ओलीलाई हटाउन कांग्रेसले औपचारिक निर्णय गरिसक्दा समेत समर्थन किन फिर्ता लिन नसकेको ? यो प्रश्नको घेरामा अहिले माओवादी केन्द्र छ । तर तत्काल समर्थन फिर्ता लिए ओलीले फेरि संसद विघटन गर्न सक्ने खतरालाई दृष्टिगत गरेर परिपक्व परिस्थितिको निर्माणका लागि गृहकार्य गरिरहेको माओवादी केन्द्रका नेता दिनानाथ शर्मा बताउनुहुन्छ ।

‘हामीले समर्थन फिर्ता लिए ओलीले फेरि संसद भंग गर्ने खतरा छ’, शर्माले भन्नुभयो । माओवादी केन्द्रका नेता हरिबोल गजुरेल पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइहाल्ने परिस्थिति निर्माण भइनसकेको बताउनुहुन्छ । ओली सरकारको विकल्पमा नयाँ सरकार गठन गर्ने स्थिति नबन्दासम्म समर्थन फिर्ता लिन हतार नगरिने उहाँले बताउनभुयो ।

ओलीलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल गर्ने कांग्रेसको निर्णयपछि धेरैले केही दिनमै ओली सरकार ढल्ने र नयाँ सरकार गठन हुने अनुमान गरेका थिए ।

तर सत्तारुढ एमालेको माधव नेपाल समूहले भने प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकार गठनका लागि पहल गर्ने नेपाली कांग्रेसको निर्णय पार्टीभित्रको दबाब मत्थर पार्न र सार्वजनिक खपत बाहेक अरु केही नभएको बताएको छ ।

अहिले सरकार परिवर्तनका सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नै नरहेको माधव समूहको दाबी छ । सत्ताको बल जसपासँग रहेको र जसपा प्रधानमन्त्रीसँग सघन सम्वादमा रहेकाले कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न नसक्ने माधव समूहका नेता विष्णु रिजालको दाबी छ ।

प्रतिकृया दिनुहोस्