हाम्रो देश
८ बैशाख २०७८, बुधवार

अब सेनाको बर्दीमा देखिनेछन् क्रिकेटर जितेन्द्र

२०७४ कात्तिकमा मलेसियाको क्वालालम्पुरमा भएको एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता नेपाली क्रिकेटको इतिहासमा स्मरणीय छ।

यही प्रतियोगितामा पहिलोपल्ट नेपालले विश्व क्रिकेटको पावरहाउस भारतमाथि १९ रनको जित हात पारेको थियो। अहिलेसम्म भारतका कुनैपनि टोलीमाथि नेपालले जित हात पारेको यही एक खेल हो।

भारतीय टोलीको प्रशिक्षक थिए– चर्चित खेलाडी राहुल द्रविड। द्रविडको टोलीविरुद्ध विनोद दासबाट प्रशिक्षित नेपाली खेलाडीहरुले गरेको बहादुरीपूर्ण प्रदर्शनलाई अझैपनि थुप्रै क्रिकेटप्रेमीले भुल्न सकेका छैनन्।

भारतमाथिको त्यही ऐतिहासिक जितका दर्ज गर्ने क्रममा नेपाली टोलीको ओपनिङ ब्याटिङ सम्हालेका थिए, जितेन्द्रसिंह ठकुरीले। उनले भारतीय अनुभवी बलरअघि लामो समय क्रिजमा रहँदै ९५ बल खेलेर ३६ रन जोडेका थिए। जसले नेपाली टोलीको आत्मविश्वास बढाएको थियो।

त्यस टोलीका अधिकांश युवा खेलाडीहरुले राष्ट्रिय टोलीमा डेब्यु गरिसकेका छन्। कप्तान दीपेन्द्रसिंह ऐरी अहिले राष्ट्रिय टोलीका उपकप्तान छन्। यस्तै अनिल साह, रोहित पौडेल, भीम सार्की, पवन सर्राफ, कमल ऐरीले पनि राष्ट्रिय टोलीबाट खेलिसके।

तर, भारतीय बलरहरुका अघि खम्बा बनेर खडा भएका जितेन्द्रले भने फरक बाटो रोजेका छन्। चैत दोस्रो साता प्रकाशित नतिजाअनुसार जितेन्द्र नेपाली सेनाको सहायक सेनानी पदमा छनोट भएका छन्। यससँगै क्रिकेटको जर्सीमा देखिँदै आएका जितेन्द्रले सेनाको बर्दी लगाउने भएका छन्।

‘अब मेरो करिअर आर्मी नै हुनेछ। भोलिको दिनमा संगठनले खेल्न अनुमति दियो र अवसर दियो भने म निकै खुसी हुनेछु,’ जितेन्द्र भन्छन्।

जितेन्द्रका मामाहरु पनि सेनामा छन्। सानोमा मामाहरुले नै सेनामा लाग्न प्रेरित गरेको र बुझ्ने भएपछि आफूलाई पनि इच्छा जागेको उनी बताउँछन्।

‘आर्मीसँग मेरो पारिवारिक अट्याचमेन्ट पनि थियो। बुझ्ने भएपछि आर्मीको सेकेन्ड लेफ्टिनेन्टमा जाने सपना पनि देखेको थिए,’ उनी भन्छन्, ‘मामाहरुले आर्मीमा जानुपर्छ भनेर पहिलेदेखि नै प्रोत्साहन गर्नुहुन्थ्यो। तर क्रिकेटका कारणले अलिकति ढिला भएको हो।’

सेनाको आफ्नै क्रिकेट टोली छ। तर, जितेन्द्रले खेल्ने पाउने नपाउने निश्चित छैन। खुला छनोटबाट सेनाको यो पदमा नाम निकाल्ने उनी पहिलो क्रिकेटर पनि हुन्।
‘गत वर्षदेखि नै सेकेन्ड लेफ्टिनेन्टको तयारी गर्दै थिए। त्यसबेला पनि ब्याट छेउमा राखेर तयारी गर्थेँ,’ उनी भन्छन्, ‘अब त ट्रेनिङ फेजमा झनै कम हुने भयो। आर्मीमा रहँदा क्रिकेट धेरै मिस गर्नेछु। आफ्नो किट ब्याग धेरै मिस हुनेछ।’

तर, सेनामा क्रिकेटमा जत्तिकै रमाइलो हुनेमा उनी विश्वस्त छन्।
‘आर्मी भनेको सम्मानित संस्था हो। मेरो ट्रेनिङ अझै बाँकी छ। आर्मी भएपछि थुप्रै जिम्मेवारी आउनेछन्। म ती जिम्मेवारी वहन गर्न उत्सुक छु,’ उनले भने।

डेब्युमै उपाधिसन् २०१४ मा मलेसियामा भएको एसीसी यू–१६ प्रिमियर लिग प्रतियोगिताबाट जितेन्द्रले उमेर समूहको राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्। सो प्रतियोगिता नेपालले जितेको थियो। फर्किंदा त्रिभुवन विमानस्थलमा किशोर टोलीको भव्य स्वागत भएको थियो।

त्यसका दुई कारण थिए। एक, त्यसअघि नेपाल दुई पटक उपाधिनजिक पुगेर पनि फाइनलमा हारेको थियो। दोस्रो, यो प्रतियोगिता जित्दै नेपालले एसीसीले आयोजना गर्ने उमेर समूहका सबै प्रतियोगिता जित्ने इतिहास रचेको थियो।

जितेन्द्र त्यसबेला जम्मा १५ वर्षका थिए। आफ्नो डेब्यु प्रतियोगितामै उपाधि उचाल्दाको सम्झना उनीसँग अझै ताजा छ।
‘खेलाडीका लागि अन्तर्राष्ट्रिय डेब्यु स्मरणीय हुन्छन्। म पहिलोपल्ट नेपालको जर्सी लगाएर खेल्दै थिएँ। नेपालका लागि केही गर्नुपर्छ भन्ने जोस थियो। हामीले त्यो प्रतियोगिता जितेर देशलाई उपाधि समेत दिन सफल भयौँ,’ उनी सम्झन्छन्।

प्रतिकृया दिनुहोस्