हाम्रो देश
८ बैशाख २०७८, बुधवार

ओली कसरी एमालेको अन्तिम प्रधानमन्त्री ?

काठमाडौं । शेरबहादुर देउवालाई नेपाली कांग्रेसका अन्तिम प्रधानमन्त्री भन्दै खिसिट्युरी गर्ने केपी शर्मा ओलीलाई अहिले आफ्नो प्रधानमन्त्री पद जोगाउन धौधौ छ ।

२०७४ कार्तिकमा गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन प्रधानमन्त्री देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री रहेको दाबी गरेका थिए । तर ३ वर्षपछि परिस्थिती उल्टियो । बामगठबन्धन हुँदै बाम एकता–एकता फुटपछि एमाले मै फर्किएका ओलीले एमाले कै प्रभावशाली नेताहरु जोगाउन नसक्दा अहिले सरकारबाट बाहिरिने अवस्थामा त पुगेकै छन् एमाले नै फुट्ने अवस्था आएपछि एमालेका तर्फबाट अन्तिम प्रधानमन्त्री ओली नै हुन् कि भन्ने चर्चा सुरु भएको छ । २०७४ सालमा देउवालाई अन्तिम प्रधानमन्त्री भनेका ओली नै अहिले एमालेका अन्तिम प्रधानमन्त्री हुन् भन्दै कांग्रेसले खिसिट्युरी गरेको छ ।

हुन त अहिले प्रधानमन्त्री ओली चौतर्फी घेराबन्दीमा छन् । नेकपा एकता जोगाउन नसकेको आरोप खेपिरहेका ओलीमाथि एमाले नै फुटको अवस्थामा पुर्याएको आरोप लागिरहेको छ । झलनाथ खनाल–माधव कुमार नेपाल पक्षलाई समेटेर अघि बढ्न नसकेको अवस्थामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर संयुक्त सरकार बने प्रधानमन्त्रीबाट कार्यकाल नपुगी ओलीको बहिर्गमन हुनेछ । तर बारम्बार अविश्वासको प्रस्ताव ल्याउन तथा समर्थन फिर्ता लिन उनले दिने चुनौतीले भने ओली कमजोर धरातलमा बोलिरहेका छन मात्रै भनेर सोच्न सकिदैन । आफुलाई प्रधानमन्त्रीबाट हटाए दुई तिहाई बहुमतका साथ अर्को चुनावपछि सिंहदरबार प्रवेश गर्ने ढाडस दिएपनि ओलीले एमाले बचाउन नसके त्यस्तो सम्भावना कमजोर बन्न जाने देखिन्छ ।

एमालेका खनाल–नेपाल पक्ष ओलीसँग रुष्ट भएर समानान्तर संरचना निर्माणमा अघि बढेकाले कुनै समयमा फुटेर एमालेबाट बाहिरिए सांगठनिक रुपमा ओली निकै कमजोर अवस्थामा पुग्नेछन् । त्यसरी एमालेका नेताहरु छिन्नभिन्न भए कांग्रेसले अनुमान लगाएजस्तै एमालेका तर्फबाट ओली अन्तिम प्रधानमन्त्री हुने सम्भावनालाई समेत नकार्न सकिँदैन ।

प्रतिकृया दिनुहोस्