हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

रोग फाल्न तातोपानीमा डुबुल्की

म्याग्दी :    प्राकृतिक चिकित्सालयको नामले चर्चित बेनी नगरपालिका-४ सिंगा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तहरुले खचाखच भरिएको छ।

जमिनभित्रबाट ५० डिग्री सेल्सियसको तातो पानी आउने कुण्डमा एक सातासम्म नियमित स्नान गरेमा हाडजोर्नी, चर्म, ग्यास्ट्राइटिस, नशा, बाथ, ढाड दुख्ने, आङ खस्ने, पेट सुन्निने, गलगाँडलगायतका रोग निको हुने जनविश्वास छ। कुण्डको पानीबाट बिरेनुनको गन्ध आउँछ।

कुण्ड क्षेत्रमा साना-ठूला तीन कुण्ड छन्। कुण्डमा एकपटकमा ५०० जनाले डुबुल्की मार्न सक्छन्। कुण्डमा दैनिक ५०० सयदेखि १०० जनासम्मले स्नान गर्दै आएका छन्। खास गरी असोजदेखि चैतसम्म बढी भीड लाग्छ। नुहाउन १५० रुपैयाँको टिकट काट्नुपर्छ।

कुण्डमा पुग्न म्याग्दी सदरमुकाम बेनीबाट नौ किलोमिटरको दूरीमा मोटरबाटो हुँदै जान सकिन्छ। कुण्ड काठमाडौंबाट २९७ किलोमिटर टाढा पर्छ।

कुण्डमा स्नान गर्ने पटकपटक आउनेहरु बढी रहेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ। कुण्डमा नेपाली बाहेक विदेशीले समेत नियमित स्नान गर्न थालेका छन्। पछिल्लो समय होटल व्यवसाय समेत फस्टाउन थालेपछि विदेशीले समेत एक सातासम्म स्नान गरेर फर्किने गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए।

देश, विदेशका ठूला अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि आजित भएका बिरामीहरु समेत यहाँ आएर एक सातादेखि १० दिनसम्म तातोपानी कुण्डमा डुबेपछि स्वास्थ्य लाभ गरेर फकिएका अध्यक्ष शाक्यले बताए।

ठूला अस्पतालमा उपचार गराउँदा समेत निको नभएपछि अन्तिम विकल्पको रुपमा तातोपानीमा आउने गरेका बिरामीमा सबैभन्दा धेरै बाग्लुङ जिल्लाबाट आएका कुण्ड व्यवस्थापन समितिको तथ्यांक रहेको छ।

स्थानीयको परिश्रमको परिणाम

कुनै समय भैंसी आहाल बस्ने ताल जस्तै तातोपानी कुण्डलाई स्थानीयको मेहनतमा बिरामीको उपचार केन्द्र बनेको छ।

म्याग्दी खोलाको किनारमा अवस्थित तातोपानीलाई बर्खाको समयमा खोलाले बगर बनाउने गरे पनि स्थानीयले चार दशकसम्म लगातार पोखरी, पानीको मुहानको संरक्षण, पदैलमार्गमा जनश्रमदान तथा आर्थिक सहयोग गरेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यले बताए। स्थानीयले बिहान बेलुकी स्नान गर्न ठाउँको रुपमा प्रयोग गरेको पोखरी अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रको रुपमा स्थापित भएको छ। २०४२ सालमा फेला परेको तातोपानीको मुहानलाई स्थानीयले संरक्षण गरेका अध्यक्ष शाक्यको भनाइ रहेको छ।

घाउ चोटपटक लागेको ठाउँमा पानीमा नुन राखेर तातो बनाई कृतिम रुपमा सेक्ने चलनलाई आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको अवस्था छ।

बिरेनुन र गन्धकको मिश्रण भएको प्राकृतिक तातोपानी कुण्डमा कृतिम घरेलु उपचारको तुलनामा सहज र सुबिधायुक्त तरिकाले घण्टौ सम्म स्नान गर्न सकिने सुबिधा भएकाले बिरामीको आकर्षण बढ्दै गएको कुण्ड ब्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।

उनका अनुसार एक दिनमा दुई पटक डेढ÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्कीएर २० मिनेटसम्म बलाङंकेट, पलाष्ट्रिक काम्लो आदी न्याना कपडा ओढेर शरिरबाट खलखल पसिना निकाल्ने गरिएको छ । तातोपानी पिउनुलाई स्वास्थ्यव्रद्र्धक मानिएको छ। कुण्डमा नेपालका भिआईपीको समेत पुगेर स्नान गर्ने गरेका छन् ।

सिंगाका साथै मुस्ताङ जाने बेनी–जोमसोम सडक अन्तरगत अन्नपूर्ण गाउपालिका–२ भुरुङ्ग तातोपानीमा कालीगण्डकी किनारमा रहेको तातोपानी कुण्ड पर्यटकीय स्थलको रुपमा परिचित छ ।

अन्नपूर्ण गाउपालिकाको पाउद्धार, पोखरेबगरको रातोपानी, दोवाको सेकार्कु, रघुगंगा गाउपालिकाको दर्मीजा, धवलागिरी गाउपालिकाको बगर र गुर्जामा प्राकृतिक तातोपानी कुण्ड छन् । यी कुण्डहरुमा पनि स्नान गरेर उपचारका लागि बिरामीहरु आउँछन् ।

कोरोनाले थला पारेको होटल र पर्यटन ब्यवसाय पूर्ण रुपमा चलायमान हुन अझै समय लाग्दे देखिएको छ । फाट्टफुट्ट पर्यटक आउन थालेपछि ब्यवसायमा राहत महशुस गरेका छन् । तर अघिल्ला बर्षहरुमा यो समयमा बिरामीको चाप हुने तातोपानी कुण्डहरु यो बर्ष बल्ल चलयमान हुन थालेका छन् । यसले थलो परेको पर्यटन र होटल व्यवासायीहरुमा राहत मिलेको छ ।

प्रतिकृया दिनुहोस्