हाम्रो देश
८ बैशाख २०७८, बुधवार

भीम रावलले सुदूरपश्चिममा एमालेको समानान्तर कमिटी घोषणा गर्दै

कैलाली : सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) को माधव नेपाल समूहले समानान्तर कमिटी बनाउने तयारी थालेको छ। सोमबारदेखि धनगढीमा शुरू भएको माधव पक्षीय प्रदेशस्तरीय विस्तारित बैठकले समानान्तर कमिटी घोषणा गर्न लागेको हो।

माधव समूहका नेता भीम रावलको नेतृत्वमा सोमबारदेखि प्रदेश पार्टी कार्यालयमा बैठक शुरू भएको छ। एमालेबाट निलम्बित नेता भीम रावलको नेतृत्वमा सोमबार बैठक नसकिएपछि मंगलवार पनि जारी रहने स्रोतको दावी छ। मङ्गलबार कमिटी बिस्तार गर्ने निर्णय गर्दै बैठक सकिने बैठकमा सहभागी एक नेताले बताए।

‘सर्वोच्च अदालतले पूर्ववत् अवस्थामा फर्किन भनेपछि हामीले जेठ २ अघिका कमिटीहरूलाई सक्रिय बनाउँदै लैजाने तयारी गरेका छौँ,’ उनले भने, ‘त्यो बेलामा रहनु भएका पदाधिकारीहरू अहिले नभए नयाँले जिम्मेवारी पाउनुहुन्छ।’

९ वटै जिल्लामा जिल्ला बैठक राखी कमिटीहरू तयार गर्न निर्देशन जारी हुने समेत उनले स्पष्ट पारे। केही दिनअघि एमालेले माधव समूह रहेका जिल्लाका पदाधिकारीहरूलाई हटाएर उक्त स्थानमा संस्थापन पक्षकाहरूले जिम्मेवारी पाएका थिए।

जिल्लामा जिम्मेवारी विहीन भएका अध्यक्षहरूले उक्त निर्णय नमान्ने बताए। नेता रावलले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र ओली समूहले गरेको एकपक्षीय निर्णयहरू कार्यान्वयन नहुने बताएका थिए।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले नेता रावललाई ६ महिनाको लागि निलम्बन गरेका छन्। नेकपा एकताअघि एमालेको सुदूरपश्चिम इञ्‍चार्ज समेत रहेका रावललाई हटाएर साबिक नेकपामै हुँदा लेखराज भट्टलाई सो जिम्मेवारी दिइएको थियो। एमाले ब्यूँतिएपछि भट्ट नै इञ्‍चार्ज कायम छन्।

प्रदेश सभाका २५ मध्ये १६ प्रदेश सांसद रावलको बैठकमा उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेश सभाका २५ जनामध्ये १६ जना प्रदेश सभा सदस्यहरू उपस्थित थिए। माधव समूहका तारा लामा तामाङ बाहेक सबै सांसदहरू उपस्थित रहेको प्रदेश कमिटी सदस्य दिनेश चन्द्र सुवेदीले जानकारी दिए।

तामाङले जिल्ला बाहिर रहेकोले नआएको र आउन नसकेको विषयमा जानकारी गराएको समेत उनले बताए। बैठकमा एमालेका सांसद लीलाधर भट्ट, रतन थापा, नेपालु चौधरी, गेल्बुसिंह बोहरा, माया तामाङ बोहरा र पठानसिंह बोहरा उपस्थित थिएनन्। प्रतिनिधि सभातर्फका सांसद भने माधव नेपाल पक्षमा भीम रावल, झपट रावल, दीपकप्रकाश भट्ट, निरा जैरु र बीना बुढाथोकी मगरमात्र छन्।

प्रतिकृया दिनुहोस्