हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

वडा तहसम्म समानान्तर कमिटी बनाउँछौं, ओलीसँग आत्मसमर्पण गर्दैनौं

काठमाडौं ।    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले वडा तहसम्म पार्टीको समानान्तर कमिटी बनाउने र ओलीसँग आत्मसमर्पण नगर्ने बताए । उनले सकारात्मक शक्तिसँग एकताबद्ध भएर अघि बढ्ने पनि बताएका छन् ।

नेता नेपालले सांसद पद जाने प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट नतर्सिन पनि सांसदहरुलाई सुझाव दिएका छन् । सांसद पद ओलीले संसद् विघटन गर्दा नै गएको र सर्वोच्च अदालतको फैसलाले फर्किएको उनको भनाइ छ । नेता नेपालले अब छिट्टै मध्यावधि चुनाव हुने सुनेको भन्दै ओलीले के–के गर्छन् हेर्न बाँकी रहेको बताए ।

आफूहरुलाई माओवादीसँग निकट रहेको भन्दै ओलीले इमोशनल ब्ल्याकमेल गरेको नेता नेपालले बताए । उनले पार्टीलाई नयाँ ढंगले एकताबद्ध रुपमा अघि बढाउने पनि स्पष्ट पारे । यसैबीच नेकपा एमालेको नेपाल खनाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ ।

स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १ सय ७५ सदस्यीय कमिटी घोषणा गरिएको हो । कमिटीको सहसंयोजकमा केदार न्यौपाने र पशुपति चौलागाईं रहेका छन् ।

प्रतिकृया दिनुहोस्