हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

बिस्का जात्रा रोक्न सूचना जारी गर्ने सरकारबाट उपत्यका छिर्ने नाकामा चेकजाँच गर्न किन ढिलाई ?

भक्तपुर ।    कोभिड–१९ का कारण स्थानीय स्तरको बिस्का जात्रा रोक्ने सूचना जारी गर्ने सरकारले उपत्यका भित्रिने नाकाहरुमा चेकजाँच गर्न किन ढिलाई गरेको ? भन्दै स्थानीयहरुले सोध्न थालेका छन् ।

स्थानीयस्तरमा कोरोना भाइरस संक्रमन फैलनु अगाडि नै नाकाहरुमा कडाई गरेको भए स्थानीय जात्राहरु रोक्न आवश्यक हुन्छ र ? कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि आइतबार जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) र स्थानीय जिल्ला प्रशासन कार्यालयबाट सोमबार सूचना जारी भएको थियो ।

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै आइतबार जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले पूजारीलाई मात्र राखेर पूजा गर्ने तथा रथ तान्ने र लिङ्गो ठड्याउने जात्रामा धेरै भीड हुने भएकाले त्यस प्रकारको जात्रा नगर्ने निर्णय गरेको थियो ।

त्यस्तै बैठकले नयाँ वर्ष २०७८ का अवसरमा हुने बिस्का जात्रा, बिभिन्न पूजा र पिकनिक जस्ता कार्यक्रमहरु पनि सीमित संख्यामा स्वास्थ्य मापदण्डको पालना गरेर मात्र गर्न/गराउन अनुरोध गर्ने निर्णय गरेको थियो ।

नेपाल पनि सतर्कता अपनाउन नेपाल सरकारले सूचना जारी गरेको छ । तर, उपत्यका छिर्ने नाका साँगामा भने बिगत दुई महिनादेखि चेकजाँच गर्ने गरेको छैन ।

गतवर्ष लकडाउन शुरु भएसँगै उपत्यका छिर्ने पूर्वी नाका भक्तपुरको साँगामा चेकजाँच कडाई गरेको थियो । तर, लकडाउन खुकुलो गरेसँगै करिब दुई महिनादेखि साँगा नाकामा चेकजाँचका लागि सुरक्षा निकायको उपस्थिति समेत छैन ।

प्रतिकृया दिनुहोस्