हाम्रो देश
८ बैशाख २०७८, बुधवार

सपना देख्नेहरूलाई सराप्नेहरू छन्: ईश्वर पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिँदै गएको भन्दै त्यसविरूद्ध खबरदारी गर्न आह्वान गरेका छन्।

काठमाडौंमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय देखा परेका राजनीतिक विसंगतिविरूद्ध खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याए।

स्वर्गीय रिमालले आफ्ना रचनामा सधैं राजनीतिक विकृति, विसंगतिलाई तिखो कटाक्ष गर्दै जबरजस्त धावा बोल्ने गरेको प्रसंग उल्लेख गर्दै उनले अहिले पनि मुलुकमा त्यस्ता विसंगतिहरू चुलिँदै गएकाले त्यसविरूद्ध उभिनुपर्ने बताएका हुन्।

उनले विकास निर्माण र समृद्ध नेपालको सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिइकन ‘सपना देख्नेहरूलाई सराप्नेहरू पनि रहेको’ भन्दै व्यंग्य गरे।

उनले भने, ‘जसरी गोपालप्रसाद रिमाल सपना देख्नुहुन्थ्यो, आज आफ्ना सपनाहरूको मृत्यु नहोस् भनेर हामी सजग हुनु जरूरत छ। सपना नदेख्नु पनि राम्रो होइन। तर सपनाको मृत्यु हुनु त सबभन्दा डरलाग्दो कुरा हो। आज सपना देख्नेहरूलाई सराप्नेहरू पनि छन्। सपनाको मृत्युप्रति परवाह नगर्ने नालायकहरू पनि छन्। तर गोपाल प्रसाद रिमाल सपना देख्ने स्वप्नदर्शी पनि हुनुुहुन्थ्यो। उहाँले राजनीतिक क्षेत्रको विसंगति विकृतिको बारेमा कटाक्ष गर्नुभयो। धावा बोल्नुभयो। राजनीतिक क्षेत्रमा विकृति विसंगतिहरू प्रशस्त देखिन्छ। अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरू, विसंगतिहरू चुलिएका छन्। तर निराश हुनुहुँदैन। त्यसविरूद्धमा उभिनुपर्छ।’

उनले राजनीतिक दलका अगुवाहरूमा विकसित हुँदै गएको व्यक्ति केन्द्रित स्वार्थ देखेर आफूलाई लज्जाबोध हुने गरेको बताए। उनले राजनीतिक वृतमा अगुवाहरूमा पद र कुर्सी मोहको कोलाहाल देखिएको टिप्पणी गरे।

उनले भने,‘राजनीतिक अगुवाहरूले सार्नुभएको मुद्दा, विचारले लज्जाबोध हुन्छ। हामीले पाएनौं, मैले पाइनँ, पाउनुपर्ने। नेतृत्व पंक्तिमा रहेका मान्छेहरूको यही कोलाहाल देखिन्छ। यसले एकखाले मान्छेलाई राजनीतिसँग वितृष्णा जगाउँछ।’

स्वर्गीय रिमालका क्रान्तिकारी कविताको प्रभावका कारण नै आफू सानैदेखि कम्युनिष्ट आन्दोलनमा लागेको उल्लेख गर्दै उनले अझै पनि आफूले जीवनलाई बुझिनसकेको बताए। उनले जीवनको रंग हरियो, नीलो हुनुपर्नेमा खैरोखैरै भएर चलिरहेको बताए।

ncell in
उनले भने, ‘म कम्युनिष्ट पार्टीमा लागेको कति बुझेर कति नबुझेर। सानै उमेरमा हो।मैले रिमालजीका तिनै केही कविताहरू, रिमालले लेख्नुभएका कतिपय क्रान्तिकारी भाव झल्किने कुराहरूले मलाई छोएको हो। सुरूमा म कम्युनिष्ट पार्टीमा लाग्दा सम्पूर्ण रूपमा घर छोडेर हिँड्दा २१ वर्षको पुगेर २२ वर्ष लागेको थिएँ। वास्तवमा त्यो भावनाको पक्ष हो। त्यो प्रबल थियो। सारको कुरा त्यति थिएन। अहिले म बुझ्छु। त्यसबेलादेखि म यसमै लागिरहेको छु तर यसमा लाग्दाखेरी यो जीवनको रंग त हरियो हुनुपर्ने, निलो हुनुपर्ने, खैरो खैरो भएर चलिरहेछ। त्यसकारणले मैले वास्तवमा जीवनलाई बुझ्नका लागि धेरै कुराहरू बाँकी छन् भन्ने म ठान्छु।’

प्रतिकृया दिनुहोस्