हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

ओलीलाई जनता र कार्यकर्ताले ठेगान लगाउने दिन आइसके – भीम रावल

धनगढी –   नेकपा एमाले खनाल–नेपाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता र कार्यकर्ताले ठेगान लगाउने बताएका छन् ।

मङ्गलबार धनगढीमा आयोजित अखिल नेपाल महिला संघको प्रदेशस्तरीय महिला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी फुटाउने व्यक्ति प्रधानमन्त्री ओली नै रहेको आरोप लगाएका हुन् ।

उनले पार्टी विधानलाई उल्लङ्घन गर्दै ओलीले आफ्नो गुटको भेला बोलाएर आफू अनुकूल निर्णय गरी पार्टीलाई दुई भागमा विभक्त बनाएको आरोप लगाए । रावलले ओलीले कारबाही गर्छ भनेर कोही पनि नडराउन अपिल गर्दै ओलीको निरंकुशताविरुद्ध प्रवृत्तिलाई छिटै किनारा लगाएरै छाड्ने बताए ।

‘पार्टीको नवौँ महाधिवेशनमा केपी ओलीभन्दा बढी मत ल्याएर विजयी भएको व्यक्ति हुँ म,’ रावलले भने, ‘प्रतिनिधिसभाको चुनावमा पनि म अछामबाट विजयी र ओली झापाबाट विजयी भएका हुन् । पार्टीको विधि विधान मिचेर कसैले पनि फुर्ती नलगाउँदा हुन्छ,’ उनले भने, ‘पालो आइसकेको छ जनता र कार्यकर्ताले ठेगाना लगाउने दिन।’

उनले कथा सुनाउँदै भने, ‘एउटा बच्चा रहेछ । बच्चा पाउन दुई आमाले न्यायाधीश कहाँ उजुरी हालेछ । न्यायाधीश कस्तो परेछ भने एकदमै धूर्त । न्यायाधीशले भनेछ दुवैले बच्चा पाउन बीच भागबाट चिर्नुपर्छ । नक्कली आमाले भनेछ, हुन्छ श्रीमान् । त्यस्तै अहिलेको ओली प्रवृत्ति हो।’

आफूहरुले त्याग र बलिदान गरी जन्माएको बच्चालाई ओलीको हातबाट चाँडै खोसेर ल्याउन विशेष अभियान शुरु गर्न लागेको बताए । सबैलाई संघर्षको मैदानमा उत्रन उनले आह्वान समेत गरे ।

प्रतिकृया दिनुहोस्