हाम्रो देश
८ बैशाख २०७८, बुधवार

निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा

काठमाडौं ।    नेकपा (माओवादी केन्द्र)ले दल त्यागको सूचना पठाएका मन्त्री प्रभु साहले पार्टीले कारबाही गर्नु निरङ्कुशताको पराकाष्ठा भएको बताएका छन् ।

कारबाहीपछि पहिलोपल्ट मुख खोल्दै साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशता भएको बताएका छन् ।

“आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता, सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख्नेहरूले हामी साझा घोषणा–पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन,” उनको जिकिर छ ।

निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसद्लाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनःस्थापनाको पक्षधर बताउनेहरू आज फेरि ‘नांगै’ भएको उनको ठहर छ ।

“अर्थात् रूपमा अहिलेकै संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक, कानुनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिका रूपमा क्रियाशील सांसदहरूको पदमाथि यसरी अनुचित रूपमा हमलाको दुस्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो,” उनले आक्रोशित भावमा भनेका छन् ।

प्रतिकृया दिनुहोस्