हाम्रो देश
८ बैशाख २०७८, बुधवार

‘चुनाव जित्न एमालेसँग सहकार्य गर्ने प्रचण्डले कथित दल त्यागको निहुँमा कानुनी डन्डा चलाउन सुहाउँदैन’

नेकपा (माओवादी केन्द्र)ले सांसद पद खारेज गर्न संसद सचिवालयलाई पत्र पठाएपछि माओवादी त्यागेर प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका सहरी विकास मन्त्री प्रभु साह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका छन्।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा भएको बताएका छन्।

आफ्नो दल त्यागेका कारण त्यसबाट निर्वाचित सांसदको पनि स्वतः खारेज हुने प्रावधानअनुसार साहसहित माओवादी केन्द्रबाट निर्वाचित ४ सांसदलाई पदबाट हटाउन अनुरोध गर्दै माओवादी केन्द्रले मंगलबार संसद् सचिवालयलाई पत्राचार गरेको हो।

त्यसको भोलिपल्ट बुधबार बिहानै साहले सामाजिक सञ्जालमार्फत आ’क्रोश व्यक्त गरेका हुन्। ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो,’ उनले भनेका छन्।

साहको वक्तव्यको पूर्ण पाठ यस्तो छ–

जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो । आफु चुनाव जित्नलाई नेकपा एमालेसंग एकता/सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिईराख़्नेहरूले हामी साझा घोषणा-पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथी कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउदैन ।

निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफुलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएकाछन । अर्थात् रूपमा अहिलेकैं संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक/कानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा ह’मलाको दु’सप्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो ।

प्रतिकृया दिनुहोस्