हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

लजालु स्वभावको पाटेबाघ मान्छेमाथि जाइलाग्नुका कारण

मंगलबार दिउँसो जावलाखेलस्थित सदर चिडियाखानामा एउटा बाघ ल्याइयो। बर्दिया राष्ट्रिय निकुञ्जबाट लठ्ठ्याएर गाडीमा ल्याइएको बाघ चिडियाखाना घुम्न आउने मानिसलाई देखाउन ल्याइएको होइन।

बर्दियामा लगालग मान्छे मार्न थालेपछि उसलाई झ्यालखानामा हालिएको हो।

आइतबार साँझमात्रै यो बाघले गैंडा गणना गर्न हात्तीमा गएका बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी पुलिसराम थारूलाई आक्रमण गरी मारेको थियो।

पुलिसरामजस्तै गत साउनयता बाघको आक्रमणमा परी ११ जनाले ज्यान गुमाएका छन्। तीमध्ये १० जना बर्दियाका छन् भने एक जना कैलालीका।

११ जनामध्ये तीनको ज्यान त चिडियाखानामा ल्याइएको यही बाघले लिएको निकुञ्जका कर्मचारी बताउँछन्।

‘हामीले राखेको क्यामेरामा तीन जना मानिसलाई यही बाघले आक्रमण गरेको देखिन्छ,’ निकुञ्जका कर्मचारी रविन कडरियाले सेतोपाटीसँग भने,‘फरक-फरक घटनामा एउटै बाघले आक्रमण गरेको देखिएपछि उसलाई पक्रेर काठमाडौं पठाएका हौं।’

अचेल बाघले किन धमाधम मान्छे मारिरहेका छन् त?

कतिपयको भनाइ छ- सरकारले संरक्षण गरीगरी बाघ पाल्यो, अहिले तिनै बाघले मान्छे मार्न थाले।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीका अनुसार सरकारले संरक्षण गरेर बाघ पालेको साँचो हो। पछिल्ला १० वर्षमा मात्रै नेपालमा १ सय ३५ वटा बाघ थपिएका छन्। सरकार यो संख्या अझै बढाउन लागिपरेको छ।

बाघको संख्या बढाउने लक्ष्य सन् २०१० मै तय भएको हो।

सन् २०१० मा काठमाडौंमा ग्लोबल टाइगर्स वर्कसप भएको थियो। त्यही वर्ष रूसको पिटसबर्गमा विश्व बाघ सम्मेलन भयो। उक्त सम्मेलनमा बाघ पाइने १३ मुलुकका प्रतिनिधि सहभागी थिए। नेपालका तर्फबाट प्रधानमन्त्री माधवकुमार नेपाल नै गएका थिए।

उक्त सम्मेलनमा नेपालले सन् २०२२ सम्म आफ्नो देशमा बाघको संख्या दोब्बर पार्ने प्रतिवद्धता व्यक्त गर्‍यो। त्यतिबेला नेपालमा १२१ वटा बाघ थिए। सन् २०२२ सम्म त्यो संख्या २५० पुर्‍याउने नेपालको लक्ष्य छ।

बाघको संख्या दोब्बर पार्न उनीहरूलाई चाहिने बासस्थान र आहार पाइने क्षेत्र पनि बढाउनु पर्थ्यो। सरकारले त्यसका लागि बाँकेमा नयाँ राष्ट्रिय निकुञ्ज स्थापना गर्‍यो। पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रफल थप्यो।

‘बासस्थान र आहार भएरमात्र पुग्दैनथ्यो, बाघको अवैध शिकार र चोरी निकासी पनि रोक्नु पर्थ्यो। सरकारले त्यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत वाइल्ड लाइफ क्राइम कन्ट्रोल ब्युरो बनायो,’ सदस्य सचिव अधिकारीले भने,‘प्रधानमन्त्रीको नेतृत्वमा बाघ संरक्षण समिति बन्यो। एकातिर बासस्थान र आहार थपियो, अर्कातिर चोरी शिकारी नियन्त्रण भएकाले नेपालले बाघको संख्या दोब्बर पार्ने लक्ष्य भेटाउन लागेको छ।’

सन् २०१८ को गणनाअनुसार नेपालमा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी बाघको संख्या २ सय ३५ थियो। पछिल्ला तीन वर्षमा यो संख्या अझै बढेको हुन सक्छ।

त्यसो भए संख्या बढेकै कारण बाघले मान्छे मार्न थालेका हुन्? यो प्रश्न हामीले राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलका प्रमुख चिरञ्जीवी पोखरेललाई सोध्यौं। पोखरेलले इटालीको युनभिर्सिटी अफ फेराराबाट बाघसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन्।

उनले पछिल्लो समय बाघ र मानिसबीचको द्वन्द्व बढ्नुमा बाघको आपसी सम्बन्ध र मानिससँगको सम्बन्ध कारण हुन सक्ने बताए।

पोखरेलका अनुसार नेपालमा पाइने बाघको नाम रोयल बंगाल टाइगर हो। बोलीचालीको भाषामा यसलाई पाटेबाघ भनिन्छ। यो जंगलको मुख्य शिकारी हो। यसको आयु औसतमा १५ वर्ष हुन्छ।

विशेष गरी तराईमा पाइने यो बाघ पछिल्लो समय डडेल्धुरा र इलामजस्ता पहाडी भेगमा पनि भेटिएको छ।

‘हेर्दा निकै डरलाग्दो देखिने भए पनि यो बाघ निकै लजालु स्वभावको हुन्छ। मानिसहरूसँग सकभर सम्पर्कमा आउन नचाहने, टाढैबाट देखादेख भइहाले पनि लुक्ने उसको प्राकृतिक स्वभाव हो,’ पोखरेलले भने,‘अहिले उसले आफ्नो स्वभावविपरीत मान्छेमाथि जाइलागिरहेको छ।’

बाघले यसरी मान्छेलाई आक्रमण गर्नुमा चार वटा कारण हुन सक्ने पोखरेल बताउँछन्।

सबैलाई थाहा छ-बाघ जंगलमा आफ्नो एरिया बनाएर बस्छ।

पोखरेलका अनुसार एउटा पोथी बाघले २५-३० किलोमिटरमा आफ्नो एरिया बनाउँछ भने भाले बाघको एरिया ४० देखि १०० किलोमिटरसम्म हुन सक्छ। एरिया बनाउने कुरामा पोथीभन्दा भाले बाघ निकै संवेदनशील हुन्छन्।

भाले बाघले आफ्नो एरियामा चार-पाँच वटा पोथीलाई पनि राख्न सक्छ तर अर्को भाले बाघ आएको सहनै सक्दैन। दिसा-पिसाब, गन्धलगायत अन्य विभिन्न संकेतहरूबाट बाघले आफ्नो एरिया बनाएका हुन्छन् र अरू आएको पनि त्यस्तै माध्यमबाट थाहा पाउँछन्।

९६८ किलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले ८७ वटा बाघ छन्।

‘कतिपय ठाउँमा एरिया ओभरल्यापिङ भएको पनि हुन सक्छ तर उनीहरू आफ्नो कोर एरियामा अरूलाई छिर्न दिँदैनन्,’ पोखरेलले भने,‘नयाँ बाघलाई पूरानाले ठाउँ नदिएको वा धेरै बूढो भएपछि तन्नेरीले लखेटेको पनि हुन सक्छ। यस्तो बेलामा कमजोर बाघले घना जंगलभन्दा टाढा आहारा नपाउने क्षेत्रमा जानु पर्ने हुन्छ।’

यस्ता बाघ बस्तीनजिक आइपुग्ने र मानिसलाई देखे आक्रमण गर्न सक्छन्। यो वर्ष मान्छे मारेको अभियोगमा बर्दिया राष्ट्रिय निकुञ्जले समातेका चार वटै बाघ भाले हुन्।

बाघले मान्छेलाई आक्रमण गर्नुको कारण आहारा पनि हुन सक्ने पोखरेलले बताए।

एउटा वयस्क बाघले एक पटकमा ४० किलोसम्म मासु खान सक्छ। खान नसकेको मासु उसले लुकाएर पछिका लागि साँचेर राख्छ।

त्यति मासुको जोहो गर्न उसलाई सजिलो भने हुँदैन।

पाटेबाघको मन पर्ने आहारा मृग, जरायो, बँदेल, निलगाई, गौरीगाईजस्ता जनावर हुन्। नेपालमा बाघको संख्या बढेसँगै उसका आहाराको संख्या पनि बढेको पोखरेल बताउँछन्।

यी जनावरको शिकार गर्न भने बाघले निकै समय र शक्ति खर्च गर्नुपर्छ। पोखरेलका अनुसार बाघले शिकारका लागि गरेका प्रयासहरू १०-१५ प्रतिशतमात्रै सफल हुन्छन्।

‘एकचोटी मान्छेलाई आक्रमण गरेको बाघले सजिलो सिकार ठानेर फेरि पनि मान्छेलाई आक्रमण गरेको हुन सक्छ,’ पोखरेलले भने।

बाघले आक्रमण गर्नुको अर्को कारण दुर्घटना पनि हुन सक्ने उनले बताए।

अर्को भाले बाघसँग झगडा परेको वा पोथी बाघसँग संसर्ग भइरहेका बेला मान्छे नजिक परे बाघले आक्रमण गर्न सक्छ।

‘पोथी बाघले नजिकै आएको मान्छेबाट आफ्ना बच्चाहरू असुरक्षित छन् भन्ने ठानेर पनि आक्रमण गर्न सक्छ,’ उनले भने,‘यस्ता घटना अचानक हुने गर्छन्।’

बाघ-मान्छे द्वन्द्व बढ्नुको अर्को कारणचाहिँ बाघको बासस्थानमै मानिस जानु हो।

यसपालि बाघको आक्रमणबाट ज्यान गुमाएकाहरूमध्ये पाँच जना बर्दियाको खाता जैविक मार्गनजिकैको बस्तीका बासिन्दा हुन्।

यो ठाउँ बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्निया घाट वन्यजन्तु संरक्षण क्षेत्रको बीचमा पर्छ। मानिसहरू नजिकैको जंगलमा घाँस काट्न, च्याउ टिप्न, भैंसी चराउन गएका बेला पनि बाघको आक्रमणमा परेका छन्।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको बीच भएर पूर्व-पश्चिम राजमार्ग जान्छ। कैलालीकी एक जना महिलालाई बाघले बाटोमै आक्रमण गरेको थियो।

‘बाघको संख्या बढेसँगै मानिसहरूमा त्यही किसिमको संवेदनशीलता नबढेकाले पनि घटनाहरू भएका छन्,’ पोखरेलले भने।

बाघ-मान्छेबीचको यो द्वन्द्व घटाउने कसरी त?

राष्ट्रिय निकुञ्जहरूले अहिले ठाउँ ठाउँमा क्यामेराहरू राखेर बाघको आवतजावतलाई ट्र्याक गरिरहेका छन्।

‘बाघ देखिएको ठाउँमा यहाँ नजानुहोला भनेर सूचना पनि टाँसेका हुन्छौं,’ बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी कडरियाले भने।

निकुञ्जले नजानू भने पनि कतिपय मानिसहरू जुन जंगलमा बाघ बस्छ त्यसैमा आश्रित हुन्छन्। उनीहरूले जंगलबाट घाँस दाउरा नगरे बस्तुभाउले खान पाउँदैनन्, चुल्हाेमा आगो बल्दैन।

‘खाता जैविक मार्गछेउ बस्तीजस्ता ठाउँका मान्छे बाघकै बासस्थानमा आश्रित छन्, यसले बाघ-मानव द्वन्द्व बढाएको छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव अधिकारी भन्छन्,‘अब त्यो बस्ती नै सार्ने कि के गर्ने भन्नेबारे सम्बन्धित निकायले सोच्नुपर्ने बेला आएको छ।’

जंगली जनावर र मान्छेको द्वन्द्व कम गर्न गर्नुपर्ने अर्को पनि काम छ। हाम्रा पूर्वाधारहरू बनाउँदा जनावरको प्राकृतिक रूपमा हुने आवतजावतमा असर नपर्ने गरी बनाउनु पर्छ।

‘विदेशतिर जंगल क्षेत्रमा सडक बनाउनु पर्‍यो भने जनावरहरूलाई ओहोर-दोहोर हुने गरी करिडोर पनि बनाइन्छ,’ चिडियाखाना प्रमुख पोखरेलले भने,‘अब हाम्रोमा पनि त्यस्तो गर्नुपर्ने बेला आएको छ।’

प्रतिकृया दिनुहोस्