धानमा राते रोग लागेपछि कृषक चिन्तित

२०७९ आश्विन १५, शनिबार ०८:३१ बजे

कावासोती : धानमा रोग लागेपछि पूर्वी नवलपरासीका अधिकांश किसान चिन्तित छन्। धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको हो।

रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन्। रोग नियन्त्रण गर्न लकडाउनका कारण मल तथा औषधि अभाव भएको कावासोती–१२ का कृषक राजेश लम्सालले बताए।

‘सुरुमा मल पाइएन हामीले पनि मल नपुगेर होला भन्यौँ’, लम्सालले भने, ‘अहिले बोट नै रातो हुँदै गइरहेको छ। मुख्य बाली धान नोक्सान भएको छ।’

कावासोती नगरपालिका–१६ का २४ कृषकको करिब एक सय १३ बिघाभन्दा धेरै धान खेतमा यो रोग देखिएपछि क्षतिपूर्तिका लागि वडा कार्यालयमार्फत नगरपालिकामा माग गरेका कृषक लक्ष्मण विकले बताए।

रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ। किसानले धान रोपेको दुई महिना बित्न लाग्दासमेत मलसमेत पाएनन्। अरू सेवा त परै जाओस् किनेर मल हाल्नसमेत नपाउँदा उत्पादन गत वर्षभन्दा कम हुने कृषकले अनुमान गर्न थालेका छन्।

करिब १८ हजार हेक्टरभन्दा धेरै क्षेत्रमा धान खेती गरिएकामध्ये अधिकांश क्षेत्रका धान खेतमा राते रोग देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका प्रमुख मीरा चौधरीले बताइन्। धानमा लागेको राते रोगका कारण यस वर्षको धानको उत्पादन पनि घटने प्रमुख चौधरीले बताइन्।

प्रमुख चौधरीका अनुसार धानले समयमा मल नपाउँदा सेतो झिङ्गाले आक्रमण गरेको कारणले यो रोग लागेको हो। सेतो झिङ्गाले धानका पातलाई चुस्दै जाँदा धानको बोट नै पहेलो हुँदै गएको चौधरी बताउँछिन्।

धान पहेँलो हुँदै गएपछि कृषकले युरिया डीएपीलगायत मल प्रयोग गर्दा सेतो झिगाँलाई चुस्न झन सहज हुने भएकाले धानको बोट रातो देखिएपछि रासायनिक मल प्रयोग गर्न नहुने उनको भनाइ छ।

बोट रातो देखिएपछि युरिया, डीएपी जस्ता मल प्रयोग गर्दा बोट पोटिलो भएर आउने र झिंगालाई पात चुस्न झन सहज हुने हुँदा कृषि प्राविधिकको सल्लाहअनुसार मल तथा औषधि प्रयोग गर्नुपर्ने चौधरी बताउँछिन्।

धान खेतमा देखिएको यो रोगको तत्कालको रोकथाम भनेको डाइमेथिएट विषादी चार लिटर पानीमा एक मिलिलिटरको दरले मिसाएर धानको पात र बोट भिज्ने गरी छर्किनुपर्ने चौधरीले बताइन्।

औषधि प्रयोगपश्चात केही ठाउँमा सुधार आए पनि कुनैमा भने सुधार नभएको जनाइएको छ। कति क्षेत्रमा रोगले असर पारेको त्यसको विवरण सङ्कलन भइरहेको र कृषि प्राविधिक कृषकका खेतमा पठाएर रोग नियन्त्रणको प्रयास भइरहेको चौधरीले बताइन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार