चेपाङ समुदायका विपन्न परिवारलाई दशैं खर्च सहयोग

२०७९ आश्विन १५, शनिबार १५:२८ बजे

लमजुङ : लमजुङको दोर्दी गाउँपालिका–९ भीरकुनामा रहेका लोपोन्मुख चेपाङ समुदायलाई दोर्दी गाउँपालिकाद्वारा बडादशैं मनाउनका लागि राहत वितरण गरेको छ । दशैं मनाउनका लागि सहजताको लागी पालिकाले पालिकाभित्र रहेकोे तीन घरपरिवारलाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

पालिकाले प्रति सदस्य जनही एक–एक हजारका दरले आर्थिक सहयोग गरेको छ । आठ जना सदस्य रहेको जुनामाया चेपाङलाई आठ हजार, चार जना परिवार सदस्य रहेको फुलमाया चेपाङलाई चार हजार र तीन जना परिवार सदस्य रहेको कान्छिमाया चेपाङलाई भने एक हजार थपसहित चार हजार रुपैयाँ आर्थिक सहयोग सहयोग गरेको गाउपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।

रकम हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले सीमान्तकृत चेपाङ समुदाय आर्थिक अवस्था कमजोर भएकाले दशैं मनाउन समस्या भएको र केही सहज होस् भन्ने उद्धेश्यले आर्थिक सहयोग गरेको बताए । दसैँ शुरु भएको चार दिन हुँदा समेत दसैँ कसरी मनाउने अन्योलमा परेका आफूहरुले राहत पाएपछि रमाइलो साथ मनाउन सकिने जुनुमाया चेपाङले बताइन । आम्दानीको श्रोत बलियो नभएको कारण चाडपर्व मनाउन मुस्किल हुँदै आएको बेलामा पालिकाले सहयोग गर्दा स्थानीय सरकार रहेको अनुभूति भएको कान्छिमाया चेपाङको भनाई छ ।

वर्षौँदेखि चुहिने घरमा दिन रात कटाउँदै आएका उनीहरुलाई केही वर्षअघि गण्डकी प्रदेश सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाएको थियो । उनीहरुलाई उक्त घरले बस्नलाई सहज हुँदै आए पनि आर्थिक अभावका कारण खान भने समस्या भइरहेको छ । उनीहरु छिमेकीका खेतबारीमा काम गर्दै मुस्किलले जीवन निर्वाह गर्दै आइरहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार