पर्यटन मन्त्रालयका उपसचिव साँढे २२ लाख घुस सहित होटलबाट अख्तियारद्धारा रंगेहात पक्राउ

२०७९ श्रावण १७, मंगलवार २१:३१ बजे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख घुससहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पेरेका उपसचिव नेपालको गाडिबाट भने थप साढे १६ लाख रुपैयाँ बरामद गरेको छ ।

६ लाख घुससहित रंगेहात पक्राउ परेका उपसचिव नेपालसंग थप सोधपुछ र खानतलासी गर्दा उनको गाडीमा थप साढे १६ लाख रुपैयाँ भेटिएको अख्तियारले बताएको छ ।

अख्तियारको टोलीले अहिले रकमको मुचुल्का बनाउनेदेखि अरु कागजात र प्रमाण संकलन गरिरहेको छ । अख्तियारको टोलीले उपसचिव नेपाललाई नक्साल नागपोखरीको एक होटलबाट पक्राउ गरेको थियो ।

अख्तियारका अनुसार, प्याराग्लाईडिङ सञ्चालनको अनुमतीपत्र दिने कामका सिलसिलामा उपसचिव नेपालले घुस मागेका थिए । त्यसपछि सम्बन्धित व्यवसायीले अख्तियारमा खबर गरी आफैले रकम दिने योजना बनाएका थिए र त्यसक्रममा रकम उपलब्ध गराएका हुन् ।

तर गाडीमा रहेको साढे १६ लाख रुपैयाँ भने अलग रकम हो । उनको साथबाट त्यो रकम बरामद होला भन्ने अनुमान नभएको अख्तियारका एक अधिकृतले बताए । ‘कोही रंगेहात पक्राउ गरेपछि हामीले प्रक्रिया पुर्‍याउन नियमित खानतलासीका क्रममा थप रकम बरामद गरेका हौं’ ती अधिकृतले भने, ‘उनी रकमबाट केही बोलेका छैनन् ।’

अख्तियारले त्यो रकमलाई स्रोत नखुलेको रकमको रुपमा बरामद गरेको छ र त्यसलाई गैरकानूनी आर्जन मानेको छ । अख्तियारको टोलीले पर्यटनको अनुमतीको विषयमा घुस डिल गर्नुअघि उपसचिव नेपालले कुनै अर्को टोलीसँग घुस लिएर गाडीमा राखेको हुनसक्ने अनुमान गरेको छ ।

३८ वर्षिय उपसचिव नेपाल रुपन्देही शुद्धोदन गाउँपालिकाका हुन् । उनी हाल बूढानीलकण्ठमा बस्छन् । उनी २०६६ साल असार ३० गते निजामती सेवामा प्रवेश गरेका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार