गोरखा दरबारबाट काठमाडौं पठाइयो फूलपाती

२०७९ आश्विन १६, आईतवार १०:३४ बजे

गोरखा : गोरखा दरबारस्थित दशैं घरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।

विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३८८२ नंको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादशैंको सातौँ दिन गोरखा दरबारको दशैं घरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्‍याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।

गोरखा दरबारको दशैंघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ ।

विधिपूर्वक दशैंघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाइ गरिएको उनले बताए । गोरखा दरबारको दशैंघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार