पश्चिम तराईमा डेंगु संक्रमण समुदायमा फैलियो

२०७९ आश्विन १६, आईतवार १७:०१ बजे

बुटवल : घोराही–१७ दाङका लक्ष्मण चौधरीलाई असोजको दोस्रो साता उच्च ज्वरो आयो । तीन दिन टाउको र हाडजोर्नी सहनै नसक्ने गरी दुख्यो । ज्वरो नरोकिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा डेंगु संक्रमण पुष्टि भयो । त्यसयता उनी अस्पतालमा उपचार गरिरहेका छन् ।

अस्पताल डेंगुका विरामीले भरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल निर्देशक डा. रमेश कँडेलले बताए । उनका अनुसार डेंगु संक्रमण समुदायमा फैलिएकाले घरघरमा विरामी छन् । दैनिक १००/२००  विरामी अस्पतालसम्म आउने गरेका छन् ।

दाङ मात्र होइन, पश्चिम तराईका सबै जिल्लाका अस्पतालमा डेंगु संक्रमण भएका विरामीको चाप छ । खासगरी दाङ, रुपन्देही, कपिलबस्तु, बाँके र बर्दियामा साउनयता सुरु भएको डेंगु संक्रमणको ग्राफ अझै उकालो लाग्ने क्रममा छ ।

अघिल्ला वर्षहरुमा फाटफुटमात्र देखिने डेंगु यस वर्ष महामारीकै स्वरुप लिएको छ । ‘विगतमा पनि डेंगुको देखिन्थ्यो’ स्वास्थ्य कार्यालय, दाङका प्रमुख अंगदबहादुर शाहीले भने, ‘यो वर्ष महामारीकै रुप लियो ।’

दाङमामात्रै असार यता १ हजार ४ सय बढीमा डेंगु संक्रमण पुष्टि भइसकेको छ । चार जनाको मृत्यु भएको छ । संक्रमितको यो संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य कार्यालय दाङका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा ७१ जना, ०७७/७८ मा १५ र ०७८/७९ मा संख्या ६ जनामा मात्रै डेंगु संक्रमण देखिएको थियो ।

रुपन्देहीमा पनि डेंगु संक्रमणको दर उच्च छ । लुम्बिनी प्रादेशिक अस्पताल डेंगु संक्रमणका विरामीले भरीभराउ छ । रुपन्देहीमा डेंगु संक्रमितको संख्या करिब ८ सय पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, बुटवलका प्रदेशभर यो वर्ष असोज १३ सम्म ३ हजार ५० बढीमा डेंगु संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयकै उच्च अधिकारीहरु भने डेंगु संक्रमण हुनेहरुको संख्या ५ हजार नाघेको अनुमान गर्छन् । ‘यो तथ्यांक सरकारी अस्पताल आएर चेकजांच गर्दा पुष्टि भएको मात्र हो, निजी अस्पतालहरुमा चेकजांच गर्ने र विरामी भएपनि डेंगु परीक्षण नगर्ने यो भन्दा धेरै छन्’ मन्त्रालयका एक अधिकारीले भने ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार