बझाङमा ड्रागन खेतीको तयारी

२०७९ आश्विन १७, सोमबार १५:४३ बजे

बझाङ : बझाङमा चैते धानको सफल परीक्षणपश्चात् ड्रागन खेतीका लागि पनि परीक्षण गरिने भएको छ । धानका परीक्षणका लागि गत फागुनमा बीउ राखेर चैतमा रोपेको धान साउनमा फलेको थियो ।

त्यसरी नै आठ सय मिटरको उचाइमा भाँडे र झोतामा ड्रागनको परीक्षण गर्ने कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले बताए । धान परीक्षणका लागि छबिसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारमा धान रोपेको थियो । हर्दिनाथ प्रजातिको धान बझाङमा सफल भए पनि व्यावसायिक रूपमा खेती गर्न भने अलि कठिन हुने विष्टले बताए ।

करिब सय दिनको अवधिमा पाक्ने भए पनि व्यावसायिक खेती गर्नका लागि पाक्ने सिजनमा झरिले नोक्सान गर्न सक्ने उहाँ बताउँछन् ।

कम मात्रामा खेती गर्दा सहज भए पनि ठूलो खेतीका लागि चैते धान वर्षायामको पानीले भित्र्याउन असहज हुनसक्छ उनले भने,बझाङमा पनि चैते धान फल्ने रहेछ भन्ने थाहा भयो । पहाड क्षेत्रमा व्यावसायिक रुपमा ठूलै जमिनमा खेती गर्दा भने वर्षाले बढी क्षति पुर्‍याउन सक्ने देखिन्छ ।

बझाङमा किसानलाई आत्मनिर्भर बनाउनका लागि ड्रागन खेतीको पनि परीक्षणको तयारी भएको विष्टले बताए । अहिले माटो र मौसम हेरेर ड्रागन रोप्ने र मङ्सिरसम्ममा फल दिन्छ, उनले भने, गर्मी सिजनमा हुने हुँदा यो पटक पाँचरपाँच लाखको लगानीमा भाँडे र झोतामा परीक्षण गर्न लागेका छौँ । परीक्षणमा कस्तो परिणाम आउँछ, त्योअनुसार अगाडि बढ्छौँ ।

ड्रागनका लागि बेर्ना कैलाली र कञ्चनपुरबाट ल्याउनुपर्ने उनले बताए । एउटै बिरुवालाई रु एक हजार पाँच सय जति पर्छ, उनले भने, यस पटक परीक्षणका लागि भाँडे र झोतामा सडक नजिक बेर्ना रोप्नका लागि सम्पूर्ण तयारी भइसकेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार