लक्षित समूहले दसैँमा पनि पाएनन भत्ता

२०७९ आश्विन १९, बुधबार १०:१९ बजे

बागलुङ : बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमै नपाउँदा दसैँमा पनि हात रित्तै भएको छ । स्थानीय तहमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बागलुङका अधिकांश वडामा वितरण भएको छैन ।

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निकासा भइसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुनेलगायतका कारणले लक्षित समूहले भत्ता नपाएका हुन् ।

मेरो त दसैँ खर्च नै त्यही भत्ता हो तर आएन जैमिनी नगरपालिका वडा नं १ का ९० वर्षीय मणिरत्न पाध्याले भने, बर्सेनि यस्तै गर्छन्, दसैँमा सधैँ हात खाली हुन्छ ।

पाध्या परिवारको बाँच्ने आधार नै सामाजिक सुरक्षा भत्ता हो । उनीहरू दम्पत्ति नै वृद्ध छन् भने एक मात्रै छोरा बाबुराम अपाङ्गता भएका व्यक्ति हुन्। ज्याला मजदुरी गरेर खाने अवस्था परिवारका कसैको पनि छैन ।

जैमिनी नगरपालिकाले अख्तियारी ढिला आएका कारण बैंकमा पठाइएको भए पनि दसैँ बिदाअघि लक्षित समूहका हातमा पुर्‍याउन कठिन रहेको बताएको छ । यहाँका अन्य स्थानीय तहले पनि दसैँ बिदाभन्दा एक दिन पहिला मात्रै कर्मचारीको तलब भत्ता बैंक खातामा जम्मा गरेका थिए ।

बागलुङ नगरपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बाँडेको छैन । भत्ताको आशामा लक्षित वर्ग बैंकमा धाए पनि नगरले भत्ता नपठाएको जवाफ पाउने गरेको गुनासो गर्छन् ।

खातामा पैसा आए दसैँ बिदामै भए पनि भत्ता बाँड्ने बैंकले आश्वासन दिने गरेका छन् । दसैँका लागि खुद्रा पैसा बनाउने र दसैँ खर्चको जोहो गर्ने गरेका ज्येष्ठ नागरिकका लागि भत्ता नै आधार हो । बागलुङको काठेखोला गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन ।

समयमा भत्ता नपाएकाले ज्येष्ठ नागरीकको दसैँ खल्लो भएको छ । भत्ता आउँछ भनेर आशा गरेका ज्येष्ठ नागरिक अहिले ऋण खोजेर दसैँ मनाउन लागेको बताउँछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार