कोरोनाले सबै क्षेत्रमा घाटा हुँदा बैंकहरुको नाफा २३ प्रतिशतले बढ्यो

२०७९ श्रावण २२, आईतवार ०७:५४ बजे

काठमाडौं । नेपाल राष्ट बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त २६ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमासम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

केन्द्रीय बैैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिका २०७८ संशोधन गरी आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशित गर्नुपर्नेमा सबै वाणिज्य बैंहरुले सो निर्देशिका पालना गर्दै वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ७४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ खुद नाफा आजर्न गरेका छन् । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले बढी हो । २६ वटा वाणिज्य बैंकमध्ये ३ वटा वाणिज्य बैंकको नाफा घट्दा अन्य २३ वटा बैंकहरुले नाफामा सुधार गरेका छन् । गत आर्थिक वर्षको सुरुवाती देखि नै तरलता अभावको समस्या देखिएतापनि बैंकहरुले मुनाफामा ग्रोथ गरेको देखिएको हो ।

२६ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी मुनाफा कमाउने बैंकमा सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । अन्य निजी बैंकहरुलाई पछि पार्दै बैंकले ५ अर्बमाथि खुद नाफा आर्जन गरेर नम्बर १ को ताज पाउन सफल भएको छ भने सबैभन्दा थोरै मुनाफा आर्जन गर्नेमा सेञ्चुरी कमर्सियल बैंक रहेको छ ।

खुद मुनाफाको आधारमा
खुद मुनाफाको आधारमा सबैभन्दा बढी धेरे सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले अन्य निजी बैंकहरुलाई पछि पार्दै ५ अर्बमाथिको मुनाफा संकलन गर्न सफल भएको हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकलाई पच्छ्याउँदै ग्लोबल आइएमई बैंकले पनि ५ अर्ब २० करोड खुद नाफा आर्जन गर्न सफल भएकोछ । वाणिज्य बैंकहरुमा अब्बल मानिने नबिल बैंकले पनि गत आर्थिक वर्षमा ४ अर्ब ९७ करोड खुद नाफा आर्जन गरेको छ ।

चुक्ता पुँजिको आधारमा
संचालनमा रहेका २६ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी चुक्तापुँजी भएको बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा ग्लोबल आइएमईको चुक्तापुँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकिङ्ग व्यवसायलाई विस्तार गर्दै नबिल बैंकले पनि यस अवधिसम्म २२ अर्ब ८३ करोड चुक्तापुँजी पुर्याएको छ । त्त्यस्तै, प्राइम बैंकको १८ अर्ब ६५ करोड, एनएमबि बैंकको १८ अर्ब ३६ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, १० अर्बभन्दा थोरै चुक्तापुँजी हुने बैंकहरुमा नेपाल एसबिआई, सेञ्चुरी कमर्सियल बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सिभिल बैंक रहेका छन् । जसमध्ये सेञ्चुरी बैंक प्रभु बैंकसँग गाभिन लागेको छ भने सिभिल बैंक हिमालयन बैंकसँग गाभिने तयारीमा रहेको छ ।

वितरणयोग्य मुनाफा को आधारमा
एनएफआरएस प्रणालीअनुसार बैंकहरुले आर्जन गरेको खुद मुनाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य मुनाफा हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा सबैभन्दा बढी वितरणयोग्य मुनाफा कृषि विकास बैंकको रहेको छ । सरकारी स्वामित्वको बैंक कृषि विकास बैंकले ३ अर्ब ९० करोड ६९ लाख रुपैयाँ बाँड्न मिल्ने नाफा छुट्याएको छ । अन्य निजी बैंकहरुलाई पछि पार्दैै बैंकले नाफामा सुधार गर्दै करिब ४ अर्बको वितरणयोग्य नाफा आर्जन गरेको हो ।

त्यस्तै, कृषि विकास बैंकलाई पचछ्याउँदै एभरेष्ट बैंक लिमिटेडले पनि गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब ८९ करोड रुपैयाँ वितरणयोग्य नाफा छुट्याएको छ । त्यस्तै, नबिल बैंकले ३ अर्ब ३७ करोड, ग्लोबल आइएमई बैंकले ३ अर्ब १९ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ ।

२६ बैंकमध्ये यस्तो नाफा ३ अर्बभन्दा बढी छुट्याउने ५ बैंक मात्रै रहेका छन् । त्यस्तै, सबैभन्दा कम वितरणयोग्य मुनाफा सनराइज बैंकको २५ करोड ६१ लाख रुपैयाँ मात्रै रहेको छ ।

लाभांश क्षमताको आधारमा
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा बैंकहरुले कुल ७४ अर्बमाथि खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकहरुको नाफामा ग्रोथ देखिएको छ ।

बैंकहरुले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपनि वितरणयोग्य नाफा निस्कन्छ । यसै वितरणयोग्य मुनाफाको आधारमा बैंकको चुक्तापुँजीलाई भाग गरेपछि लाभांश क्षमता निस्कन्छ । तर हालसम्म १० वटा बैंकहरुले मर्जरमा जाने सम्झौता गरिसकेको छन् । यसर्थ मर्जरमा गएसँगै कम्पनीको चुक्तापुँजी स्वतः बढ्न जान्छ । यसकारण गत आर्थिक वर्षको वितरणयोग्य मुनाफालाई आधार मानेर निकालिएको लाभांश क्षमता नै यकिन भने गर्न सकिँदैन ।

तर गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र पुुँजीलाई आधार मानेर हेर्ने हो भने सबैभन्दा बढी लाभांश क्षमता एभरेष्ट बैंकको रहेको छ । बैंकको चुक्तापुँजी थोरै र वितरणयोग्य नाफा धेरै भएको कारण पनि लाभांश क्षमता बढी निस्किएको हो । बैंकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ४१।१५ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।

त्यस्तै, दोस्रोमा कृषि विकास बैंकको पनि लाभांश क्षमता २९।६३ प्रतिशत रहेको छ । बैंकले नाफामा सुधार गर्दै उत्कृष्ट वितरणयोग्य नाफा छुट्याएको कारण लाभांश क्षमता पनि २० प्रतिशतभन्दा माथि निस्किएको हो ।

साथै हिमालयन बैंकको २०।५२ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २०।३० प्रतिशत र एनआइसी एशिया बैंकको १९।४३ प्रतिशत रहेको छ । २० प्रतिशतभन्दा बढी लाभांश दिन ४ वटा बैंक मात्रै रहेका छन् । त्यस्तै, सबैभन्दा थोरै लाभांश क्षमता रहेको बैंकमा सेञ्चुरी बैंकको ९।५४ प्रतिशत र सनराइज बैंकको जम्मा २।५३ प्रतिशत मात्रै रहेको छ ।

लगानीकर्ताले शेयर बजारमा लगानी गर्नु अघि विश्लेषण गनुपर्ने हुन्छ । यो तथ्याङ्क कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणको आधारमा तयार पारिएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार