रहरले होइन, बाध्यताले विदेशिनुपर्छ नर्सहरूलाई

२०७९ मंसिर २४, शनिबार १०:४० बजे

अन्जु न्यौपाने
काठमाडौं
: चराहरूको मीठो चिरबिर मेरा कानमा गुन्जिएसँगै म ब्युँझिएँ । उठेर बार्दलीमा उभिएर हेर्दा मेरा आँखाले पुरानो भइसकेको खरको छानाबाट तप्प तप्प चुहिएका शीतका थोपाहरू देखे । आज आकाश धुमिल थियो । लाग्थ्यो, रातभरि आकाश रोयो होला । अनि, त्यसैको आँसु अहिले खसिरहेको होला ।

धुमिल आकाश हेर्दै गर्दा मलाई आफ्ना बाल्यकालका साथीभाइसँग गरेका कुराहरूको झलझलती याद आयो । हामी आपसमा कुरा गर्थ्यौँ, “आकाशमा तारा लागेको दिन भगवान्को घरमा बत्ती बल्छ । अनि, ताराहरू नदेखिएका दिन बत्ती बल्दैन ।”

कति मीठा अनि आनन्दका दिन थिए ती ! हेर्दाहेर्दै ती दिनहरू बितिसकेछन् ।

ओहो, आज होस्टल जाने दिन पनि आइसकेछ ! मेरो सानैदेखिको सपना नर्सिङ पढेर सेतो कोटमा घाँटीमा कालो आला राखी बिरामीको सेवा गर्ने । आफ्नो त्यो सपना पूरा हुने दिन नजिकै आउँदा म फुरुङ्ग थिएँ । साथमा घरकी जेठी छोरी भएका कारण ममाथि पारिवारिक बोझ पनि थपिदै थियो । मेरो मनमा अनेकौँ कुण्ठाहरू पलाउँदै थिए ।

आमाले गोठबाट चर्को स्वरमा कराएको आवाज आयो, “ए, पाडोले त सबै दूध खाएर मरेछ ! नानी होस्टेल जाँदा खुवा बनाइदिऊँ भनेको, सत्यानाशै भयो !”

सामान्य परिवारमा हुर्केकी म । बुबाले आफ्नो अलिकति भएको जग्गा बेचेर मलाई पढाउन आँट गर्नुभएको थियो । मेरो परिवारको आशा र भरोसाको केन्द्र भनेकै म । म पछिका दुई साना बहिनीहरू ।

बुबाले पूजा कोठाबाट बाहिर निस्कँदै भन्नु भयो, “नानी, राम्रोसँग पढ्नू ल ? राम्रोसँग पढिस् भने तेरो भविष्य पनि राम्रो हुन्छ । राम्रो जागिर खाएर तैँले परिवारलाई पनि हेर्नुपर्छ । परिवारको दुःख हटाउनुपर्छ ।”

“हुन्छ नि, बाबा ! अब त हजुरलाई केही अप्ठ्यारो प¥यो भने सामान्य उपचार गर्न पनि जानेकी छु । शकुन्तलाले पनि दुई वर्षपछि एसएलसी दिन्छे ।” बेला बेला ऊ मसँग भन्थी, “दिदी ! तपाईंको नर्सिङको ड्रेस मलाई पनि राखिदिनु है ।”

“हैन, अब कसरी पो पढाउनु हो तलाइँ मैले ?” भित्रबाट आमाले भन्नुभयो ।

“मैले जागिर गर्दै बहिनीलाई पढाउँछु के ! आमा चिन्ता नगर्नु न ।” मैले आमालाई सम्झाएँ ।

यस्तै यस्तै पारिवारिक गफ र कल्पनामा डुब्दा डुब्दै ओहो कतिखेर एघार बजिसकेछ, पत्तै भएन ! बस समात्न हतार हतार तयार हुन थालेँ । आमाले राति नै उठेर छोरीका लागि भनेर मकै, चना र भटमास भुटेर पोको पारिदिनु भएको रहेछ ।

“थोरै ताजा घिउ पनि छ । पुर्‍याएर खानू, अलि तागत आउला ।” आमाले मायाले बनाइदिएको कोसेली झोलामा हालेर बाँधेर आफ्नो र परिवारको सपना पूरा गर्ने यात्रामा निस्कन तयार भएँ ।

त्यही बेला आमाले इशारा गरेर घर पछाडि बोलाउनुभयो । आफूले थैलामा बाँधेर लुकाएर राखेको सय–पचासका केही नोटहरू बचाएर जम्मा पन्ध्र सय रुपैयाँ बनाउनु भएको रहेछ । त्यो मलाई दिँदै भन्नुभयो, “यो पनि राख्, तलाइँ होस्टेलमा चाहिएला ।”

आमाको यो व्यवहार देखेर त म पानी पानी भएँ । आफूमाथि झनै बोझ थपिएको अनुभव गरेँ । आफ्नो कर्तव्य जसरी भए पनि पूरा गर्छु भन्ने सोचेँ । आमाबुबालाई सुखी बनाउने सपना बोकेर मन भारी बनाउँदै म घरबाट बिदा भएँ र होस्टेल पुगेँ ।

होस्टेलमा मेसमा खाना खानुपर्ने । दिनरात नभनी पढ्नुपर्ने । लगानी पनि त्यति नै धेरै लागेको छ । बेला बेलामा घरको याद आउँथ्यो । रmन मन लाग्थ्यो, कहिलेकाहीँ त आँसु रोक्नै सक्दैनथेँ, खसिहाल्थ्यो । तर, हिम्मत चाहिँ हार्दैनथेँ । मेरो मात्रै सपना भएको भए सायद म असफल हुन्थेँ । तर, म नर्स बन्ने सपना मसँगै मेरा आमाबुबाको पनि थियो ।

त्यसैले, दिन–रात नभनी लगातार मेहनत गरेर पढिरहेँ ।

बिस्तारै पढाइ सकिन लाग्यो । हामी सबै साथीहरू सामान्य परिवारका थियौँ । कसैलाई उहाँहरूका आमाबुबाले आफ्नो जग्गाजमिन बेचेर पढाउनुभएको थियो त कसैले ऋण लिएर । कसैका बुबा किसान हुनुहुन्थ्यो भने कसैका व्यापारी त कसैका शिक्षक ।

सपना बुन्दा बुन्दै हाम्रो पढाइ सकिएको पनि पत्तै भएन । परीक्षा पनि सकियो र रिजल्ट पनि आयो । म पास भएछु ।

केही समय घरको बसाइँपछि लाइसेन्सको परीक्षा दिन फेरि काठमाडौँ जानुपर्ने थियो । लाइसेन्स लिन तयारी गर्नुपर्थ्यो । केही साथीहरू त पहिल्यै काठमाडौँ गइसकेका थिए ।

साथीहरू भने परीक्षाको रिजल्ट आएपछि मात्र जाने तयारीमा थिए । म काठमाडौँमा एक महिना होस्टल बस्नुपर्ने भयो, तयारी कक्षाका लागि ।

बुबाआमाले गाउँको सहकारीबाट ऋण गर्नुभयो र मलाई काठमाडौँ पठाउनुभयो ।

निकै मेहनत गरेर लाइसेन्स पनि निकालियो ।

मनमा लागिरहेको थियो, अब त परिवारको बोझ उठाउने दिन पनि आयो । बुबाआमा मेरो सफलता देखेर मभन्दा धेरै खुसी हुनुभयो, अब छोरीले जागिर गर्छे र हामीलाई सहयोग गर्छे भनेर ।

घरबाट पच्चीस किलोमिटर अगाडिको मेडिकल कलेजमा भ्याकेन्सी खुलेको रहेछ । मैले पनि त्यहीँ अप्लाई गरेर काम गर्ने निधो गरेँ र त्यहाँ फारम भरेँ । तर निकै राजनीतिक सोर्सफोर्स लाग्दो रहेछ त्यहाँ । त्यसमा पनि परीक्षा दिनुपर्ने लिखित र मौखिक दुवै ।

लिखितमा त नाम निस्क्यो, तर मौखिकमा नाम निस्कन गाह्रो प¥यो । केही अन्तरालपछि बल्ल निस्क्यो ।

कलेजमा सरकारीसरह सेवा–सुविधा पाइन्छ भनेर मैले सुनेकी थिएँ । घरबाट दैनिक आउजाउ गर्न गाह्रो हुने भएकाले मैले कलेजनजिकै डेरा लिएर बस्ने सोचेँ । पछि त माहिली बहिनी शकुन्तला पनि आउँछे भन्ने सोचेर पनि मैले डेरा लिएकी थिएँ । उसको इच्छा पनि नर्सिङ नै पढ्ने थियो ।

कलेजमा तीन महिना भोलेन्टियर गर्नुपर्ने रहेछ । हामीलाई सुरmमा भोलेन्टियरको जागिरमा लगाइयो । छोरीले जागिर पाई, अब खुसीका दिन देख्न पाइने भइयो भनेर घरमा आमाबुवा खुसी हुनुभएको थियो ।

यता म आफैँले कोठाभाडा र रासन जुटाउनुपर्ने । त्यसैले, नभई नहुने केही महत्वपूर्ण सामानहरु मात्रै किनेर बाँकी सामान जागिरको तलब आएपछि मात्रै किन्ने निधो गरेँ ।

हस्पिटलमा ओभरटाइम ड्युटी गर्नुपर्ने । मेरो अवस्था बुझेर घरबाट अलिअलि पैसा खोज्दै पठाउँदै गर्नुभयो । हेर्दाहेर्दै त्यो तीन महिना त बित्यो । तर, फेरि पनि अर्को तीन महिना भोलेन्टियर गर्नुपर्ने भयो ।

ओहो, धेरै नै गाह्रो भयो, सम्झँदै अत्तालिन्छु । यति हुँदा पनि मैले हिम्मत हारिनँ । हार्नु पनि हुँदैनथ्यो । त्यो थप तीन महिना पनि रात–दिन नभनी, सुखदुःख आफ्नो छाक कम गरेरै भए पनि पूरा गरेँ ।

त्यसपछि बल्ल करार जागिर त सुरु भयो तर तलब जम्मा सात हजार । अब ओभरटाइम चाहिँ जोडिने भयो । खुब मेहनत गरेर ओभरटाइमसहित काम गरेँ । पहिलो महिनाको तलब जोड्दा दस हजार भयो । पाँच हजार आफूले राखेर पाँच हजार घरमा पठाइदिएँ ।

बिस्तारै तलब राम्रो होला भन्ने सोचेर लगातार काम गरिरहेँ । तर दुर्भाग्य, पछि पछि त झनै समयमा तलबै दिन छाड्यो र दुई महिनामा एकैचोटि तलब दिन थाल्यो ।

यसरी जीवन कसरी धान्ने, गाह्रो भयो । यत्रो मेहनत गरेर पढ्दा पनि राम्रो पैसा नै नहुने ! सधैँ पैसा कसरी पु¥याउने भनेर चिन्तित रहनुपर्ने ! कति रात त भोकै सुतियो । घरबाट पैसा मगाऊँ भने पनि बुबाले लिनुभएको ऋण त्यत्रो छ ! साथीहरुको अवस्था पनि त्यस्तै छ ।

अर्को हस्पिटलमा पनि भ्याकेन्सी खुलेको छ कि यो भन्दा राम्रो भनेर खोज्दै जाँदा नर्सिङ होममा खुलेको थाहा पाएँ । म लगायत केही साथीहरुले त्यहीँ जागिरका लागि अप्लाई ग¥यौँ । नाम पनि निस्क्यो ।

मैले अब त्यहीँ मेहनतका साथ काम गर्ने निर्णय गरिसकेकी थिएँ । त्यहाँ भोलेन्टियर पिरियड पनि थिएन । १४ हजार मासिक तलब आउँथ्यो । तर, एकदमै कडा नियम । एकछिन पनि बस्न नपाउने आफ्नो ड्युटी आवरमा । काम गर्दागर्दा सानो गल्ती भयो भने पनि डाक्टरलगायत अन्य नर्सिङसँग सम्बन्धित मान्छेहरूको गाली खानुपर्ने । तैपनि दुःखका साथ काम गर्दै गएँ । नियमित तलब पनि आउन थाल्यो ।

अब त राम्रा दिनहरू सुरm भए होलान् भनेको त केही समयभन्दा बढी टिक्न सकेन । त्यही बेला कोरोना नामक भाइरसको आतङ्कले नेपाललाई छपक्कै छोप्यो । जताततै लकडाउन हुन थाल्यो । हेर्दाहेर्दै हस्पिटलमा कोरोना–बिरामीहरूको चाप बढ्दै जान थाल्यो ।

अर्कातिर हस्पिटलमा काम गर्ने मान्छे भनेपछि घरबेटीले हेर्ने र बोल्ने नजर नै फरक । मान्छेहरू कोरोनाका कारण धमाधम मरिरहेका थिए । रात–दिन नभनी अहोरात्र खटिएर आफ्नो र परिवारको समेत माया मारेर काम गर्नुपर्थ्यो । यही कारणले कैयौँ नर्सहरूले आफ्नो ज्यानसमेत गुमाउनुप¥यो ।

गाउँमा आमालाई कोरोना लागेर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । उता परिवारको त्यस्तो अवस्था, यता तलब ठप्प । बाँचू कसरी भन्ने अवस्था आइसक्यो ।

स्वास्थ्यकर्मीलाई बीमा गराएर बिमा रकम पनि दिन्छु भनेका थिए, तर महिनौँ बित्यो, दिएनन् । आफ्नो परिवारको आर्थिक भार कम गर्न त परै जाओस्, आफ्नो अवस्थासमेत नाजुक हुँदै जान थाल्यो ।

लाखौँ लगानी गरेर पढ्नुपर्ने, पढ्न पनि गाह्रो विषय, जसोतसो गरी पढेर पनि राम्रो र उचित व्यवस्था नपाइने । सरकारी अस्पतालमा नाम निकालौँ भने त्यहाँ पनि सीमित कोटा मात्रै ।

नेपालमा लाखौँ नर्सहरू उत्पादन त भए, तर उनीहरू विकल्प खोज्दै हिँड्नुपर्ने । आफ्नो त्यो सेतो कोटमा आला भिरेर बिरामीको सेवा गर्दै बुबाआमालाई खुसी राख्ने अनि बहिनीलाई पढाउने मेरो त्यो सपना सपनै हुने भयो ।

मेरा धेरै साथीहरू आफ्नो आर्थिक अवस्था सुधार्ने सपना बोकेर धमाधम विदेशिन थाले । सक्ने जतिले राम्रो देशको तयारी र नसक्नेले सामान्य देशमा जाने तयारी गर्नुभयो । आफ्ना आमाबुबालाई खुसी राख्न र ऋण तिर्न मैले पनि सानोतिनो देशमै भए पनि विदेश जाने निधो गरेँ र उहाँहरुलाई यस बारे सोधेँ ।

उहाँहरुले मेरो सबै अवस्था बुझेर बल्लतल्ल मन नहुँदा नहुँदै अनुमति दिनुभयो । अनि, म विदेशिन बाध्य भएँ ।

आज मजस्तै हजारौँ नर्सहरू अहिले विदेश जाने तयारी गर्न लाग्नुभएको छ र यो क्रम बढ्दो मात्रामा छ ।

सायद नेपालमा पनि नर्सहरूको उचित सम्बोधन र व्यवस्थापन भएको भए आज हजारौँ नर्सहरू नेपालमै बस्ने थिए । आफ्नै देशमा आफ्नै घरको खाना खाएर आफ्नै देशवासीको सेवा गर्ने कसको मन हुँदैन र ?

अहिले त झन् सीमित हस्पिटलले मात्रै नर्सिङ पढाउने व्यवस्था गरेको छ । यस्तै अवस्था कायम रहने हो भने एक दिन नेपालमा औँलामा गनिने मात्रै नर्सहरू बाँकी रहनेछन् । र, हामीले विदेशबाट नर्सहरू पुनः नेपालमा बोलाउनुपर्ने अवस्था आउनेछ ।

सम्बन्धित सबैले समयमै बुझुन् र सम्बोधन गरुन्, ‘रहरले होइन, बाध्यताले विदेशिनुपर्छ नर्सहरूलाई ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार