सरकार गठनमा सरिक नहुने ओलीको संकेत

२०७९ मंसिर २५, आईतवार ११:१३ बजे

काठमाडौं : मंसिर ४ को आम निर्वाचनबाट संघीय संसदको दोस्रो ठुलोदल बनेको नेकपा एमालेले नयाँ सरकार गठन प्रक्रियामा सहभागि नहुने संकेत गरेको छ । नयाँ सरकार कसको र कस्तो बन्ने भन्ने चर्चा चलिरहेका बेला अघिल्लो पटक सरकार गठन र प्रधानमन्त्रीका लागि अग्रसर देखिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यो पटक भने सरकार बनाउने विषयमा अरुची देखाएका छन् ।

निर्वाचन अघिसम्म आगामी सरकार एमालेको हुने भन्दै ठूकुवा गर्दै हिँडेका ओलीलाई निर्वाचनको परिणामले सिथिल बनाएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र दुवै राप्रपालाई साथ लिएर चुनावमा गएका ओलीले आफ्नै नेतृत्वको गठबन्धनमा रहेका दलहरुलाई सँगै लिएर सरकार बनाउने बताउँदै आएका थिए । तर, उनको यो इच्छा पनि निर्वाचनको मतपरिणामले पुरा हुन दिएन ।

उनले साथ लिएका जसपाका अध्यक्ष उपेन्द्र यादव नै निर्वाचनमा पराजित भए भने एमालेको सुर्य चिह्न लिएर चुनाव लडेको राप्रपा नेपालका अध्यक्ष कमल थापाको अस्तित्व नै संकटमा पर्यो । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले मात्र अपेक्षित सफलता पायो । तर, उसलाई मात्र लिएर सरकार बनाउने हैसियतमा ओली छैनन् । जसपाले पनि ओलीलाई साथ नदिने भएपछि उनलाई नयाँ सरकार बनाउन साना र नयाँ दल लिँदा पनि नेकपा माओवादी नै आवस्यक छ ।

एमालेबाट फुटेर गएको नेकपा एकीकृत समाजावदीलाई उनले यसअघि नै किनारा लगाइसकेका छन् । सानादल मिलाएर माओवादीले साथ दिँदा एमालेको पक्षमा एक सय ४६ सीट पुग्छ । तर, यो सम्भावना छैन । न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साथ दिने संकेत दिए नत उपेन्द्र यादवले नै । सत्ता गठबन्धनभन्दा बाहिरका सबै दल जोड्दा एमालेको पक्षमा १३४ सीट मात्रै हुन्छ । १३८ पुर्याउन स्वतन्त्रबाट जितेकाहरुको साथ एमालेलाई चाहिन्छ ।

यसरी नेपाली कांग्रेस बाहेकका सबै दल मिलाउन सम्भव नभएपछि ओलीले सरकार बनाउने विषयमा अरुची देखाएका हुन् । दोस्रो दल बनेको एमाले पनि सुरुमा सरकार गठनका लागि अंकगणित जुटाउन कस्सिएको थियो । कतिपय नेताहरूले सरकारमा आफ्नो पार्टीको दाबी रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । पहिलेको गठबन्धनलाई हेर्ने हो भने एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपा गर्दा १३४ सिट पुग्छ । यसले पनि सरकार गठनका लागि चार सिट पुग्दैन् ।

यता, सरकार बनाउन नसक्ने अवस्थामा पुगेको एमालेले यस पटक राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र राष्ट्रियसभा उपाध्यक्षजस्ता पदहरूमा हाल धुनुपर्ने अवस्था देखिएको छ । अहिले सरकार बनाउने तयारीमा रहेको सत्ता गठबन्धनले संघीय सरकार बनाउँदै गर्दा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र राष्ट्रियसभा उपाध्यक्षजस्ता पदहरूको भागबन्डाका लागि प्याकेजमा सहमतिको प्रयास गरिरहेको छ ।

प्रदेश सरकार गठनमा पनि एमाले कम्जोर देखिएको छ । यसमा पनि सत्ता गठबन्धन दलबीच सहमति हुने देखिएको छ । यसले गर्दा अबका दिनमा कुन–कुन पार्टी मिलेर संयुक्त सरकार बनाउनेछन् भन्ने प्रतीक्षा एमाले बसेको छ । पार्टीले सरकार गठनका लागि संख्य पुर्याउने अवस्था नआएपछि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि एमाले सरकारमा जाने योजनामा नरहेको बताएका छन् ।

बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेले जनमतको सम्मान गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएका छन् । ‘हामी अहिले सरकारमा जाँदैनौं । सरकारमा जान कुनै छलफल र अभ्यास पनि गरेका छैनौँ,’ उनले भने, ‘जनमतका हिसाबले एमाले ठूलो पार्टी हो । तर प्राविधिक हिसाबले दोस्रो भएका छौं । त्यसैले सशक्त प्रतिपक्षको भूमिकामा रहन्छौं।’

उपाध्यक्ष पौडेलले आफ्नो बहुमत नपुगेका बेला जसरी पनि सरकारमा जानुपर्छ भन्ने मान्यता नरहेको बताउँदै सरकारमा जाने कुनै पहलकदमी नलिएको उनले दाबी गरे । पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले प्रतिपक्षमा बसे पनि विकास, सुशाशन र लोकतन्त्रका वकालत गरिरहने जनाए । ‘गठबन्धनसित पनि बहुमत त छैन तर टुक्राटुक्री जोडेर उसैले सरकार बनाओस् । हामी हेर्छौं ।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार