चितवनमा पुस २९ गतेदेखि माघ ९ गतेसम्म खिचरा महोत्सव हुने

२०७९ मंसिर २५, आईतवार ११:४२ बजे

चितवन : चितवनमा यसबर्ष खिचरा महोत्सव हुने भएको छ । आगामी पुस २९ गतेदेखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौं संस्करणको खिचरा महोत्सवको हुने भएको हो ।

आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आज (शनिबार) पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ ।

महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले खिचरा महोत्सव सबै जातजाति र समुदायको महोत्सव बनेको जनाउँदै यसवर्ष आकर्षणहरु थप गरिएको बताउनुभयो ।

उहाँले सिमान्तकृत जातजातिको मौलिक भेषभुषामा आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस्तो पहिरनले समुदायको पहिचान झल्काउनुको साथै संरक्षणमा पनि टेवा पुग्छ, कला, सँस्कृति संरक्षण नै महोत्सवको उद्देश्य रहेकाले मौलिक भेषभुषालाई प्राथमिकता दिएका हौं ।”

महोत्सवमा अन्य आकर्षणको रुपमा हरेक दिन थारु लगायत विभिन्न जातजातिका परम्परागत भेषभुषा सहितको साँस्कृतिक प्रस्तुति, थारु विशेष खानाका फुड स्टल, थारु लगायत अन्य जातजातिका मौलिक खानाका परिकारका स्टलहरु, प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, विभिन्न हस्तकला सामग्री तथा व्यवसायिक स्टलहरु, बाल उद्यान, खुल्ला हाजिरी जवाफ प्रतियोगिता, मिस्टर एण्ड मिस थारु २०२२ का प्रतिस्पर्धीहरुद्वारा नेपालभरिकै थारु पहिरनहरुको प्रदर्शनी, तराईका विभिन्न जिल्लाका थारु विशेष साँस्कृतिक प्रस्तुति, निःशुल्क स्वास्थ्य शिविर, थारु ब्रम्हथान परिसरलगायत रहेका छन् ।

महोत्सवलाई सफल बनाउन १५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ भने विभिन्न ३२ वटा उपसमितिहरु बनाइएको छ । महोत्सवको उद्घाटनको दिन खैरहनी–८, मगनीचोकदेखि महोत्सवस्थलसम्म झाँकी र विभिन्न परम्परागत भेषभुषा सहितको शोभायात्रा निकालिने आयोजक संस्थाका सभापति चुडामणि चौधरीले जानकारी दिनुभयो ।

थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले खिचरा महोत्सव चितवनकै ब्राण्ड बनेको भन्दै यसलाई भव्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

उहाँले थारु समुदायको पहिचान र संस्कृति विश्वभर चिनाउन यस महोत्सवले पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकप्रति आभार प्रकट गर्नुभयो । महोत्सवका संस्थापक संयोजक नारायणप्रसाद महतोले खिचरा थारु समुदायको महत्वपूर्ण पर्व रहेकाले त्यसलाई विश्वभर चिनाउन महोत्सवको रुपमा आयोजना गर्दै आइरहेको बताउनुभयो ।

उहाँले स्थानीय थारु युवाहरु र व्यवसायीहरुको सामान्य सहयोगमा महोत्सव यहाँसम्म पुयाईएको भन्दै आर्थिक अभाव हुँदाहुँदै पनि निरन्तरता दिदैँ आइरहेको बताउनुभयो ।

महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ । यस्तै महोत्सवमा १२० वटा विभिन्न व्यापारिक स्टलहरु समेत रहने छन् । महतोको अग्रसरतामा २०७० सालमा दुई दिने खिचरा महोत्सवको सुरुआत भएको थियो ।थारु समुदायले माघ १ गते भव्य रुपमा खिचरा पर्व मनाउँदै आइरहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार