चीन र साउदी अरेबियाको संयुक्त वक्तव्यप्रति इरान आक्रोशित

२०७९ मंसिर २५, आईतवार १५:२३ बजे

काठमाडौं : चीन र साउदी अरबको संयुक्त वक्तव्यप्रति इरानको विदेश मन्त्रालयले कडा आपत्ति जनाएको छ । मन्त्रालयले तेहरानमा रहेका चिनियाँ राजदूतलाई बोलाएर चिनियाँ राष्ट्रपति सी जिनपिङको साउदी अरब भ्रमणपछि जारी गरिएको चीन–साउदी अरेबियाको संयुक्त विज्ञप्तिप्रति ‘कडा असन्तुष्टि’ व्यक्त गरेको छ ।

सी जिनपिङको भ्रमणको अन्तिम दिन शुक्रबार संयुक्त विज्ञप्ति जारी गरिएको थियो जसमा अरब देशहरूमा राम्रो साझेदारी र विवादहरूको शान्तिपूर्ण समाधानमा जोड दिइएको थियो। “अबु मुसा, ग्रेटर टम्ब र लेसर टम्ब सम्बन्धी विवादको शान्तिपूर्ण समाधानका लागि अन्तर्राष्ट्रिय कानून अन्तर्गत द्विपक्षीय वार्ता सञ्चालन गर्न युएईको शान्तिपूर्ण प्रयासलाई सबै देशहरूले समर्थन गर्ने सहमति भएको थियो,” विज्ञप्तिमा भनिएको छ।

इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले ट्विट गरेका छन्, “पर्शियन खाडीमा रहेका अबु मुसा, ग्रेटर टम्ब र लेसर टम्ब इरानका अभिन्न अंग हुन् र सधैं यसको हिस्सा रहनेछन्। अन्य देशहरूले इरानको क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्छ।” सी जिनपिङ खाडी सहयोग परिषद् र अरब राष्ट्रका प्रमुखहरूसँग भेट्न यसै साता रियाद पुगेका छन्। यस क्रममा उनले संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, कतार र कुवेतका राष्ट्र प्रमुखसँग भेटघाट गरेका थिए ।

अबु मुसा, ग्रेटर टम्ब र लेसर टम्ब पर्शियन खाडीका तीनवटा साना टापुहरू हुन् जसलाई इरान र संयुक्त अरब इमिरेट्स दुवैले दाबी गरेका छन्। इतिहास र अन्तर्राष्ट्रिय कानुनअनुसार यी तीन टापुमा युएईको अधिकार रहेको र उपयुक्त फोरममा आफ्नो माग दोहोर्‍याउने युएईले जनाएको छ ।

यसैबीच, इरानले युएईको यो दाबी निराधार भएको बताएको छ । उनले यस्तो दाबी गर्नु भनेको इरानको क्षेत्रीय अखण्डतामाथि आक्रमण गर्नु सरह भएको बताएको छ । अबु मुसा करिब १३ वर्ग किलोमिटर, ग्रेटर टम्ब १० वर्ग किलोमिटर र लेसर टम्ब करिब २ वर्ग किलोमिटर छ, जसमा जनसंख्या कम छ । यद्यपि यहाँ इरानी सेनाको उपस्थिति छ।

यी तीन टापुहरू स्ट्रेट अफ हर्मुज नजिकै अवस्थित छन् र विश्वको सबैभन्दा महत्त्वपूर्ण जलमार्गहरू मध्ये एकको नजिक अवस्थित भएकाले दुवै देशका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छन्। स्ट्रेट अफ हर्मुज हुँदै जाने सबै जहाजहरूले यी तीनवटा टापुहरू भएर जानुपर्छ। यस्तो अवस्थामा खाडीमा पानीजहाजको आवतजावतलाई नियन्त्रण गर्न यी तीनवटा टापुको नियन्त्रण महत्वपूर्ण छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार