महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्छ : मन्त्री रेग्मी

२०७९ मंसिर २५, आईतवार १५:४६ बजे

काठमाण्डौ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताउनुभएको छ ।आज आइतवार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैङ्गिक हिंसा र न्यूनीकरणका उपाय विषयक अन्तरक्रियामा बोल्दै मन्त्री रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले अभियानको रूपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उहाँले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ–गाउँमा अभियान लिएर जानुपर्ने बताउनुभयो । महिला हिंसा गाउँघरमा मात्रै नभइ सहरी क्षेत्रमा पनि उत्तिकै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महिला हिंसाविरुद्धको अभियान कोठाभित्र होइन अभियानको रूपमा लैजानुपर्‍याे । हामीले अब अभियानको रूपमा सडकमा गर्ने हो कार्यक्रम । सडकमा हिंसाविरुद्धको अभियानको रूपमा सडक नाटक होस् । समाजलाई सचेत नगराइकन यो हिंसाको अन्त्य हुँदैन ।’

मन्त्री रेग्मीले समाजलाई सचेत नगराइ महिला हिंसाको अन्त्य नहुने बताउनुभयो । उहाँले राजनीतिक दलहरूले पनि महिला हिंसाको विरुद्धमा अभियान नै सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो । राजनीतिक दलहरूले घोषणापत्रमा लेखेर र भाषण गरेरमात्रै नपुग्ने उहाँको भनाइ छ ।

मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभइ समाज, राजनीतिक दल र सिङ्गो राष्ट्रको समस्या भएको बताउनुभयो । घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको उहाँले उल्लेख गर्नुभयो । महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले ९५ प्रतिशत घरमा कुनै न कुनै रूपमा महिला हिंसा हुने गरेको बताउनुभयो । महिला हिंसाको सम्बन्धमा प्रशस्त कानुन भए पनि कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको उहाँको भनाइ छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार