‘हनिट्रयाप’ मा पारेर करोडौं बार्गेनिङ गर्ने तीन जना पक्राउ

२०७९ मंसिर २५, आईतवार १६:२५ बजे

दाङ : दाङ तुलसीपुरका एक ब्यापारीसँग यौन सम्बन्धको प्रस्ताव गरि ठूलो रकम वार्गेनिङ गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना महिला र एक जना पुरुष रहेका छन्।

गढवा गाउँपालिका ६ घर भई हाल तुलसीपुर ६ दशरथ टोल बस्ने ३५ वर्षीया अनुष्का सिंह भन्ने कृष्णा गहतराज, तुलसीपुर उपमहानगरपालिका १८ की ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका १० नारायणपुरका २६ वर्षीय जनक भनिने रुद्रबहादुर केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनीहरुलाई घोराही १६ मा रहेको कबिला रिसोर्टबाट पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिए।बलात्कारको मुद्दा हाल्ने भन्दै उनीहरुले पीडित व्यवसायीसँग करोडौं रुपैयाको बार्गेनिङ गर्ने गरेका थिए।

‘मोबाइलका म्यासेज र कल रेकर्ड हेर्दा करोडबाट बार्गेनिङ सुरु हुन्छ’ डीएसपी गौतमले भने ‘पीडितले आएर उजुरी गर्नुभयो। उजुरीपछि रिसोर्टमा बार्गेनिङ गर्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएका हौं।’

पछिल्लो समय पुरुषसँग सम्बन्ध बढाउने अनि सम्बन्धलाई हतियार बनाएर पैसाको ठूलो बार्गेनिङ गर्ने प्रचलन बढेको छ। तर थोरै मात्र प्रहरीमा उजुरी पर्ने गरेको छ। कतिपय पर्याप्त प्रमाण नहुँदा र आफ्नो बेइज्जत हुने डरले प्रहरीकोमा जाँदैनन्।

‘सुरुमा मान्छेसँग चिनजान गरि महिलाले आफूलाई दयनीय अवस्थामा प्रस्तुत गरेर सम्बन्ध बढाउँदै जाने, त्यसैलाई हतियार बनाएर धम्कीसहित ठूलो रकम बार्गेनिङ गर्ने देखिएको छ’ डीएसपी गौतमले भने।

यस्तै खालको घटनामा गत असोजमा प्रहरीले ४ जना महिलालाई पक्राउ गरेको थियो। उनीहरु अहिले कारागारमा छन्

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार