बुटवलको अस्पताल क्षेत्रमा सवारी पार्किङ गर्न रोक

२०७९ मंसिर २६, सोमबार ११:२७ बजे

रुपन्देही : बुटवलमा सवारी साधन पार्किङको समस्या बढेपछि यसलाई व्यवस्थित गर्ने प्रयास गरिएको छ । बुटवल उपमहानगरले अस्पताल लाइन क्षेत्रमा पार्किङ गर्न नदिने निर्णय गरेको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालासहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको नजिकमा पार्किङको गर्न नदिने निर्णय गरेको छ ।

बैठकले बुटवलका मुख्य सडकहरूको पार्किङ व्यवस्थापन गर्ने, राजमार्ग क्षेत्रमा रहेका टिकट काउण्टरहरू एकीकृत गरी बसपार्कभित्रै व्यवस्थापन गर्ने, लामो तथा छोटो दुरीका सवारी साधनले यात्रु चढाउने र ओराल्ने स्थान तय गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए ।

उनकाअनुुसार बैठकले बसपार्कभित्र पार्किङ नगरी बस छुट्नुभन्दा १ घण्टा अघिमात्रै बसपार्कभित्र प्रवेश गर्ने, प्रत्येक टिकट काउण्टरले डस्टविन राखी अन्यत्रको फोहोर व्यवस्थापन गर्ने, बस तथा जीप सञ्चालक संस्थाहरुले सवारी चालक र सहयोगीलाई अनिवार्य रुपमा परिचय पत्रको व्यवस्था गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले बुटवलमा सञ्चालन हुनेगरी थप १ सय ८४ इरिक्सालाई दर्ताका लागि आह्वान गर्ने र दर्ता नगरी सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ । यस्तैगरी बुटवल क्षेत्रमा ब्लो हर्न बजाउन निषेध गर्ने, मोडिफाई गरेका, स्वरुप परिवर्तन गरेका मोटरसाइकल चलाउन निषेध गर्ने निर्णय बैठकले गरेको छ ।

बुटवल क्षेत्रमा बस, जीप, इरिक्सा व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका, यातायात व्यवस्था कार्यालय, इलाका प्रहरी कार्यालय, राजमार्ग ट्राफिक सुरक्षा तथा व्यवस्थापन कार्यालय, बस, जीप, इरिक्सा सञ्चालक संस्थाहरूले एकीकृत रुपमा सुधार अभियान सञ्चालन गर्ने निर्णय बैठकले उपमहानगरपालिका प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार