चेपे ‘ए’ जलविद्युतको पावर हाउसमा किसानहरूले लगाए आगो, तीन अर्बको क्षति

२०७९ मंसिर २६, सोमबार १२:४९ बजे

काठमाडौं : चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रवर्द्धनमा लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन चेपे ‘ए’ जलविद्युत आयोजनाको पावर हाउसमा किसानहरूले आगजनी गरिदिएका छन्। गत शनिबार ७ मेगावाटको चेपे ए जलविद्युत आयोजनाको साइट अफिस एवम् पावर हाउसमा एक समूह प्रवेश गरी कार्यालय समान र सवारी साधन तोडफोड र आगजनी गरिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बताएको छ।

यसबाट करिब तीन करोड रुपैयाँ बराबरको क्षति पुगेको इप्पानले बताएको हो। राइनास नहरसँगको सरोकारको विषयमा भएको असमझदारीका कारण उक्त घटना घटेको हुनसक्ने आशंका इप्पानको छ। इप्पानले उक्त घटनाको भत्र्सना गरेको छ। साथै हरेक आयोजनाहरू र त्यसका सरोकारवाला पक्षहरूबीच कुनै पनि असमझदारी आपसी संवाद र छलफलबाटै समाधान गर्न सकिने इप्पानले जनाएको छ।

विगतदेखि नै जलविद्युत आयोजनाहरूले यस्ता थुप्रै अप्रिय घटनाहरूको सामना गरिरहनु पर्ने निकै दुःखद् अवस्था रहेको उल्लेख छ। यस प्रकारका अपराधिक गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश गएको भन्दै इप्पानले चिन्ता व्यक्त गरेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार