
काठमाडौं : पूर्वमिस नेपाल उषा खड्गी र उनका पूर्वपति जीपी तिमिल्सेनाबीचको मनमुटाव चर्किएको छ । सम्बन्ध विच्छेद भैसकेपनि कानूनीरुपमा सम्पत्ति बाँडफाँटको मुद्दा किनारा नलाग्दै जीपीले दोस्रो विवाह गरेका छन् ।
सम्बन्ध विच्छेद भएको ६ महिना पुरा नहुँदै जीपीले मंसिर १९ गते प्रेमिका सविना अधिकारीसँग धुमधामले विवाह गरे । गत जेठ २६ गते काठमाडौं जिल्ला अदालतमा जीपी र उषाबीच डिभोर्स भएको थियो ।
सम्पत्ति बाँडफाँटमा अदालतको फैसला चित्त नबुझेपछि जीपीले उच्च अदालतमा पुनरावेदन दिएका थिए । अहिलेसम्म यो मुद्दाको छिनोफानो भएको छैन । अंश मुद्दाको फैसला नआउँदै जीपीले अर्को विवाह गरेपछि उषाले आफूमाथि अन्याय भएको बताएकी छन् ।
‘पूर्वपतिबाट मैले एकपैसा पनि अंश पाएकी छैन । म अन्यायमा परेँ । उहाँले कानून मिचेर बढ्नुभयो । अंशवण्डा नहुँदै अर्को विवाह गरेर उहाँले अन्याय गर्नुभएको छ’ उषाले भनिन्, ‘मलाई दोस्रो विवाहमा आपत्ति छैन तर, अंशवण्डा छुट्याउनुपर्छ ।’
जीपीले भने यसबारे प्रतिक्रिया दिन चाहेनन् । ‘यो मेरो नीजि जिन्दगीको कुरा हो । हामी आफै कानूनीरुपमा अघि बढ्या छौं । यो चीजलाई त्यति भ्यालु नदिऔं । यसमा मेरो कुनै कमेन्ट छैन’ जीपीले भने ।
सम्बन्ध विच्छेद भैसकेपनि जीपी र उषा अहिले भक्तपुर लोकन्थलीस्थित घरमा सँगै बस्दै आइरहेका छन् । तेस्रो तल्लामा जीपी र दोस्रो तल्लामा दुई छोरासँगै उषा बस्छिन् । त्यही घरमा जीपीले दुलही भित्राएका हुन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।