नबनिर्बाचित सांसद बर्तौला रासायनिक मल माग्दै पुगे सिंहदरबार

२०७९ मंसिर २७, मंगलवार ०९:५७ बजे

काठमाडौं : नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव एवं मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी सांसद महेश बर्तौला रासायनिक मल माग्दै सिंहदरबार पुगेका छन ।

हालै सम्पन्न संघीय निर्वाचनमा आफ्नो राजनीतिक गुरु विरोध खतिवडालाई हराएर निर्वाचित भएका मकवानपुरका सांसद महेश बर्तौला जनताका समस्या बोकेर सिंहदरबारतिर लबिङ तिव्र पारेका छन् । उनी मकवानपुरका किसानको समस्या बोकेर कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगे । समस्या हरेक बर्ष किसानलाई पिरोल्ने उही रासायनिक मलको ।

उनले विभागीय मन्त्रीलाई भेटेरै यो समस्या पोख्न चाहेका थिए तर जसरी किसान मल नपाएर रातभर अनिदो र छटपटीमा बिताइरहेका छन्,उसैगरी कृषि मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा भावी सरकारको प्रधानमन्त्री बन्नका लागि जोड घटाउको खेलमा व्यस्त छन् ।

त्यही कारण उनले प्रधानमन्त्री देउवालाई भेट्ने समय पाएनन् । र भेट गर्ने चाँजोपाँजो मिल्यो कृषि सचिव डा. गोबिन्दप्रसाद शर्मासँग । अपरान्ह सिंहदरबारमा सचिवसँग भएको भेटमा सांसद बर्तौलाले रासायनिक मलको समस्याको दीर्घकालीन सामाधानका केही उपाय समेत सुझाव दिएर फर्किएका छन् ।

उनले अहिले बाली लगाउने समय शुरु भएका कारण राज्यसँग स्टक रहेको र अन्य प्रदेशका लागि नचाहिने मल मकवानपुरलाई उपलव्ध गराउन आग्रह गरे । राजधानीबासीले खाने अधिकांश तरकारी मकवानपुरबाटै आउने हुँदा उनले तत्काल राज्यसँग स्टक रहेको मल त्यता पठाउन सचिव शर्मालाई आग्रह गरे ।


यस्तै मलमा राज्यले दिँदै आएको पैसा अनुदानलाई कटौती गरी मल परिणाममै अनुदान दिन माग राखे । जसरी कोराना कालमा फाष्ट ट्याकबाट स्वास्थ्य सामाग्री खरिद गरिएको थियो ठीक उसै गरी कृषि उपज रासायनिक मल पनि फाष्ट टर्याकबाटै खरिद गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने माग उनले सचिवसँग राखेका थिए । सांसद बर्तौलाका मागमा सचिव शर्मा सकरात्मक देखिएको उनले सुनाए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार