अस्ट्रेलियामा प्रहरीमाथि गोली चल्यो, दुई प्रहरीसहित छ जनाको मृत्यु

२०७९ मंसिर २७, मंगलवार ११:४५ बजे

सिड्नी : अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको दुर्गम क्षेत्र वेस्टर्न डाउन्सस्थित वेइम्बिलामा भएको गोली हानाहानमा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक सर्वसाधारण र हमलावारहरू रहेको प्रहरीले जनाएको छ । घटनामा थप दुई प्रहरी घाइते भएका छन् ।


घटनामा मृत्यु भएका दुई प्रहरी, म्याथ्यु आर्नोल्ड र र्‍याचेल म्याक्रोँ । न्यु साउथ वेल्सको डब्बो भन्ने स्थानबाट बेपत्ता भनिएका एक व्यक्तिको खोजीका लागि गएका प्रहरीमाथि हमलाकारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ती दुई प्रहरीको मृत्यु भएको क्विन्सल्यान्ड प्रहरीले जनाएको छ । घटनामा दुई प्रहरी अधिकारीसमेत घाइते भएका छन् ।

गोली प्रहारबाट एक सर्वसाधारणको समेत मृत्यु भएको छ भने प्रहरीको जवाफी कारबाहीमा तीन संदिग्ध अपराधीसमेत मारिएको जनाइएको छ ।घटना भएको क्षेत्र क्विन्सल्यान्ड राज्यको राजधानी ब्रिसबनबाट जम्मा २ सय ७० किलोमिटर टाढा छ भने घटनास्थल भएको स्थान सामान्यतया खाली रहने गरेको एक घर भएको समाचारमा जनाइएको छ । उक्त घटनालाई लक्षित र सुनियोजित रुपमा गरिएको कार्यका रुपमा चित्रित गरिएको छ ।

स्थानीय समाचारसंस्था एबीसीका अनुसार हराएका व्यक्तिको खोजीमा क्विन्सल्यान्ड प्रहरीबाट गएका ४ प्रहरीमध्ये २९ र २६ वर्षका र्‍याचेल म्याक्रोँ र म्याथ्यु आर्नोल्डमाथि दुई बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनामा ५८ वर्षीय एक स्थानीयको समेत मृत्यु भएको थियो । संदिग्ध अपराधीका रुपमा चित्रित गरिएका दुई पुरुष तथा एक महिलाको प्रहरीको गोलीबाट मृत्यु भएको हो ।

प्रहरीले घटनाको अनुसन्धानका लागि स्थानीय क्षेत्रलाई आपत्कालीन अवस्था घोषणा गरेको समेत जनाइएको छ । क्विन्सल्यान्ड प्रहरी कमिस्नर क्याटारिना कारोलले घटनालाई ‘अकल्पनीय त्रासदी’ भनेकी छन् । घटनापछि थप प्रहरीको टोलीले घटनालाई नियन्त्रणमा लिएको थियो । गोली हानाहानमा घाइते प्रहरीलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।

घटनापछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले दुःखद् दिन भएको प्रतिक्रिया दिँदै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । स्थानीय समाचारसंस्था एसबीएसले उक्त घटनामा सहभागी एक पूर्वशिक्षक नाथानियल ट्रेन्ट, उनका भाइ तथा एक महिला रहेको र उनीहरूको प्रहरीको जवाफी कारवाहीमा मृत्यु भएको जनाएको छ । न्यु साउथ वेल्स प्रहरीले नाथनियल ट्रेन्टलाई खोजीका लागि केही समयअघि सार्वजनिक रुपमा अपिल गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार