समानुपातिक सांसद छनोटबारे गण्डकीमा एमाले र राप्रपामा विवाद

२०७९ मंसिर २७, मंगलवार १२:१५ बजे

पोखरा : नेकपा एमालेले समानुपातिकतर्फ १० सीट पाएको गण्डकीमा २ जिल्लाका मात्रै अधिकांश सांसद छनोट भएका छन्। कास्कीका ४ र बागलुङका ४ जना सांसद छन्। बाँकी २ जनामध्ये एकजना स्याङजा र अर्को एकजना लमजुङबाट समेटिएका छन्।

११ जिल्ला रहेको यहाँ एमालेले ४ जिल्लाबाट मात्रै सांसद छान्यो। सांसद छनोटमा एमालेबृत्तमै असन्तुष्टि देखिएको छ। गोरखाबाट आदिवासी जनजाति क्लष्टरको दोश्रो नम्बरमा रहेका प्रेम गुरुङलाई हटाएर खस आर्यतर्फ २ नम्बरमा रहेका कास्कीका प्रकाश केसीलाई समावेश गरेको भन्दै एमालेकै नेता कार्यकर्ताले विरोध गरेका छन्।

गोरखाका ११ वटै स्थानीय तहका अध्यक्ष र जनवर्गीय संगठनका अध्यक्ष बालकोटमा डेलिगेसन गएका छन्। प्रत्यक्ष तर्फ पनि खसआर्य बढी निर्वाचित भएको भन्दै उनीहरुले समानुपातिकबाट आदिवासीलाई प्राथमिकता दिनुपर्ने बताए।

१२ सीटमा प्रत्यक्ष चुनाव जितेको एमालेका ८ जना खसआर्य समूहका छन् भने आदिवासी जनजातिबाट ३ जना मात्रै छन्। त्यसैले समानुपातिकमा आदिवासीलाई प्राथमिकता दिनुपर्ने नेताहरुको माग छ।

यस्तै, राप्रपामा पनि प्रदेश अध्यक्ष सांसद भएपछि विरोध सुरु भएको छ। प्रदेशका अध्यक्ष पन्चराम गुरुङले पैसा बुझाएर सांसद बनेका आरोप राप्रपामा छ। ‘पैसा बुझाएर सांसद बन्न पाईंदैन,’ एक नेताले भने, ‘पार्टीमा दुख गरेका धेरै साथीहरु हुनुहुन्छ। अरुलाई अवसर दिनुपर्छ।’ राप्रपाका नेता कार्यकर्ताले नै पार्टीको प्रदेश कार्यालयमा तोडफोड र तालाबन्दी गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार