डेंगीपछि कपाल झर्ने समस्या : ‘टेलोजेन एफ्लुभियम’ के हो?

२०७९ मंसिर २७, मंगलवार १५:३० बजे

काठमाडौँ : इलामकी ५२ वर्षीया महिला निजामति कर्मचारी अस्पतालमा कपाल झर्ने समस्या लिएर आइन् । दुई महिना अघि डेंगी संक्रमण भएको उनलाई कपाल झर्न थालेको २ हप्ता भएको रहेछ । त्यसबाहेक उनलाई तौल कम हुने र थकाइ लाग्ने समस्या पनि देखिएको थियो । उनी कपाल झरेर तालुपना होला भनेर चिन्ताले निद्रा नलाग्ने समस्याबाटसमेत पीडित थिइन् ।उनी अहिले चिकित्सकीय परामर्शपछि औषधि सेवन गरिरहेकी छिन् र उनको स्वास्थ्यमा सुधार आइरहेको छ ।

लामखुट्टेको टोकाइबाट हुने डेंगी भाइरसको संक्रमणबाट नेपालमा ५० हजार भन्दा बढी प्रभावित बनिसकेका छन् । डेंगीका केसहरु कम हुँदै देखिएपनि डेंगी निको भएपछि पनि विभिन्न समस्याहरु लिएर बिरामी अस्पताल आइरहेका छन् । धेरैजसो डेंगीका बिरामी कुनै लक्षणबिना अथवा ज्वरो मात्र आई ठिक भएर जान्छन् भने कतिपयमा डेंगी भाइरसको संक्रमण भएको ३–१४ दिनमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, जोर्नी दुख्ने, ढाड दुख्ने आदि हुन्छन् । यी लक्षणहरु करिब ७ दिन भित्र कम हुदै जान्छन्।

डेंगी रोग मुलत: तीव्र गतिमा संक्रमण हुने र ठिक हुने रोग भएतापनि कतिपयमा भने डेंगी ठिक भैसकेपछि पनि तौल घट्ने, थकान महसुस हुने, कपाल झर्ने र डिप्रेसन हुने समस्या देखिन थालेका छन्। यस्ता लक्षणहरु विशेषत: महिला र ज्येष्ठ नागरिकहरुलाई बढी देखिने गर्दछ।

साधारणतया शरीरमा हुने विभिन्न प्रकारका भाइरल संक्रमण, तनाब, औषधि सेवन, पोषक तत्त्वको कमी, गर्भावस्थाआदि कारणले कपाल झर्ने समस्या निम्त्याउँछ। कपाल हाम्रो अनुहार, व्यक्तित्व र आवरणका लागि महत्वपूर्ण भएकाले कपाल झरेमा मानिसको स्वरुप परिवर्तन भइ मानसिक तनाब उत्पन्न हुनसक्छ र तनाव लिनाले पुनश्च: फेरी कपाल झर्न सक्छ।

डेंगीपछि कपाल झर्ने समस्या धेरै मानिसमा संक्रमण भएको २ देखि ३ महिना पछि देखिन थाल्छ। सामान्यतया हरेक दिन करिब १०० वटा कपाल झर्नु सामान्य मानिन्छ । तर संक्रमणले कारण झर्दछ भने ३०० वटा भन्दा बढी रौँ झर्न सक्छन्। यस्ता समस्या विशेषगरी महिलामा नै बढी देखिन्छ। यस्ता केशहरु दैनिक ४ देखि ५ जना लिएर आइराखेका छन् र दशैँ यता यस्ता बिरामीहरु १०० जना जति पुगिसकेका छन्।

कपालका रौँहरु ३ चरण बाट बन्छन् ।‘एनाजेन’ भन्नाले रौं बढ्ने चरण, ‘टेलोजेन’ अर्थात् आराम वा स्थिर रहने चरण र ‘क्याटअजेन’ अर्थात् रौँ घट्ने चरण गरी ३ चरण हुन्छन् ।संक्रमण भएपछि एनाजेन चरणका रौं टेलोजेन चरणमा प्रवेश गर्छन् जसमा रौं आराम र स्थिर हुन्छन् । यसरी स्थिर रहेका रौंको मात्रा बढ्नाले रौंहरु एनाजेन अर्थात् बढ्ने चरणमा प्रवेश गर्न कम हुन्छ र कपाल पातलो देखिन्छ। यसरी कपाल झर्ने रोगलाई ‘टेलोजेन एफ्लुभियम’ भनिन्छ। यसरी झरेका कपालहरु संक्रमण निको भएपश्चात स्वत: ३ देखि ६ महिनामा पलाउँदै जान्छन् र सामान्य अवस्थामा फर्किन्छन् ।त्यसैले यसमा आत्तिहाल्नुपर्ने अवस्था छैन ।

संक्रमण निको भइसकेपछि पनि देखिने लक्षणहरुले मानिसको कार्यकुशलता, क्षमता, दैनिकी र जीवनस्तरमा असर पार्न सक्छ जसले सामाजिक र आर्थिक भार निमत्याउन सक्छन्। तसर्थ डेंगीको प्रकोप फैलिएका ठाउँमा डेंगीका दिर्घ लक्षणकाबारे जनचेतना फैलाउन सकेमा अनावश्यक चिन्ता, प्रयोगशालाका परीक्षण, खर्च र समयको बचत हुन्छ । डा. प्रज्वल पुडासैनी

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार