‘नबिल एसएसई’ को पहिलो ब्याचका २५ जनाले पाए प्रमाणपत्र

२०७९ मंसिर २७, मंगलवार १६:५८ बजे

काठमाडौं : नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम ‘नबिल एसएसई’को पहिलो ब्याचलाई प्रमाणपत्र वितरण गरिएको छ । ललितपुरको क्याम्पियन कलेजमा विशेष कार्यक्रम आयोजना गरी नबिल एसएसईका पहिलो ब्याचका विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो ।

बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघिल्लो वर्षदेखि ‘नबिल स्कुल अफ सोसियल इन्ट्रप्रेनरसिप (नबिल एसएसई)’ कार्यक्रम सुरु गरेको हो । नबिल एसएसईअन्तर्गत सातै प्रदेशका युवाहरूलाई उद्यमशीलता विकासका लागि तीनमहिने कोर्स प्रदान गर्छ । यसका लागि बैंकले सातै प्रदेशका विभिन्न कलेजहरूसँग सम्झौतासमेत गरेको छ ।

नबिल एसएसईले बागमती प्रदेशअन्तर्गत क्याम्पियन कलेजका २५ जना विद्यार्थीलाई दिएको कोर्स सम्पन्न भएको हो । नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरीले कोर्स लिएका विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे । उक्त अवसरमा उपाध्यक्ष चौधरीले युवाहरू रोजगारीका लागि विदेश जाने संख्या बढिरहेको उल्लेख गर्दै ‘नबिल एसएसई’जस्ता कार्यक्रमले उद्यमशीलता विकास गर्ने र युवालाई स्वदेशमै काम गर्न उत्प्रेरणा तथा अवसर दिलाउने बताए । नबिलले सातै प्रदेशमा ‘नबिल एसएसई’ कार्यक्रम अघि बढाएको बताउँदै यसबाट युवाहरूमा उद्यमशीलता विकास गर्न तथा उनीहरूलाई उद्यमी बन्न प्रोत्साहन गर्ने बताए ।

उक्त अवसरमा नबिलका नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले नबिल बैंक देशमा उद्यमशीलताका विकासका लागि सधैँ अग्रसर हुने बताए । सातै प्रदेशमा कलेज नै छनोट गरेर अघि बढाइएको नबिल एसएसईले युवाहरूलाई उद्यमशीलताप्रति उत्सुक र उत्साहित बनाउन सहयोग गर्ने उनको भनाइ थियो । युवाहरूको क्षमता तथा दक्षता अभिवृद्धिका लागि नबिलले तालिम तथा प्रशिक्षण, वित्तीय सहायता र वित्तीय साक्षरता प्रदान गर्न तत्पर रहेको उनले बताए ।

कार्यक्रममा क्याम्पियन कलेजकी प्रधानाध्यापक अनामिका श्रीवास्तवले बैंकले नबिल एसएसई कार्यक्रमका लागि क्याम्पियन कलेजलाई छनोट गरेर विद्यार्थीलाई कोर्स दिएकोमा धन्यवाद दिइन् । यस कार्यक्रमले युवाहरूलाई उद्यमशीलताबारे जानकारी दिने मात्रै नभई उद्यमी बन्न प्रेरितसमेत गर्ने उनले बताइन् ।

समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक, सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार