अग्ला हुँदै नेपाली

२०७९ मंसिर २८, बुधबार ०९:५४ बजे

काठमाडौँ : नेपालीको शारीरिक कदको औसत उचाइ निरन्तर वृद्धि भइरहेको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले यस्तो देखाएको हो । आर्थिक स्थितिसँगै पोषणका अवस्थामा आएको सुधारले पुड्कोपना घटाउन मद्दत गरेको हो ।

स्वास्थ्य सर्वेक्षण–२०२२ अनुसार ५ वर्षमुनिका ४ जना बालबालिकामध्ये १ जना (२५ प्रतिशत) मा पुड्कोपना छ । सन् २०१६ को सर्वेक्षणमा ३६ प्रतिशत थियो । पुड्कोपना २०११ मा ४१ र २००६ मा ४९ प्रतिशतमा थियो । सन् २००१ को सर्वेक्षणले ५७ प्रतिशतमा पुड्कोपना देखाएको थियो । बालबालिकामा पुड्कोपना मापन सन् २००६ को विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाल विकास मापदण्डमा आधारित छ । सन् १९९६ को राष्ट्रिय परिवार तथा स्वास्थ्य सर्वेक्षणमा ५ वर्षमुनिका ५७ प्रतिशत बालबालिका पुड्को पाइएको थियो ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण पोषण शाखाका प्रमुख लीलाविक्रम थापाका अनुसार सन् १९९६ देखि नै वैज्ञानिक रूपले गरिएको राष्ट्रव्यापी सर्वेक्षणमा बालबालिकामा पुड्कोपनाको पहिचान हुँदै आएको छ । पछिल्ला केही दशकमा पोषण र आधारभूत स्वास्थ्यमा भएको सुधारले पुड्कोपन घटे पनि ढुक्क हुन नसकिने उनको मत छ । ‘शिशु गर्भमा रहेदेखि नै पर्याप्त पोषण उपलब्ध भए पुड्कोपन घट्छ,’ उनले भने । उनका अनुसार दोस्रो विश्वयुद्घताका आमनेपालीको औसत उचाइ ५ फिट २ इन्च रहेकोमा दुई दशकअघि त्यो बढेर ५ फिट ५ इन्च पुगेको थियो ।

वंशाणुगतभन्दा पनि भ्रूणदेखि नै उचित र उपयुक्त पोषण व्यक्तिविशेषको उचाइसँग सम्बन्ध रहेको औंल्याउँदै उनी भन्छन्, ‘व्यक्तिविशेषको उचाइमा पोषणको योगदान ८० प्रतिशत हुन्छ ।’ जापानका विद्यालयहरूमा स्वास्थ्य र पोषणसँग सम्बन्धित कार्यक्रमहरूको विस्तारले जापानी नागरिकको औसत उचाइमा वृद्घि भएको अध्ययन नेपालीका लागि उपयोगी हुने थापाको भनाइ छ । वरिष्ठ डाइटिसियन उषा शाह भारत र नेपालको सामाजिक, सांस्कृतिक परिवेश समान भएकाले नेपालीको औसत उचाइ इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को मापदण्डलाई आधार बनाउने गरिएको बताउँछिन् ।

आईसीएमआर, नेसनल इन्स्टिच्युट अफ न्युट्रिसनको सन् २०२० को सेप्टेम्बरमा प्रकाशित प्रतिवेदनअनुसार भारतमा पुरुषको नयाँ औसत उचाइ ५ फिट ८ इन्च (१७७ सेमि) र महिलाको ५ फिट ३ इन्च (१६२ सेमि) देखिएको छ । सन् २०२१ को नोभेम्बरमा गण्डकी मेडिकल कलेजको एक जर्नलअनुसार नेपालीको बडी मास इन्डेक्स (बीएमआई) माथि गरिएको अध्ययनले नेपालीको औसत उचाइ ५ फिट १.४२ इन्च (१५६.६ सेमि) देखाएको थियो । उक्त अध्ययनमा २५ देखि ४० वर्ष उमेर समूहका ३ सय २१ जना सहभागी थिए ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार पुड्कोपनको समस्या सबैभन्दा बढी ३६ प्रतिशत कर्णालीमा र कम १८ प्रतिशत वाग्मती प्रदेशमा छ । मधेसमा २९ प्रतिशत पुड्कोपना पाइएको छ । मधेसपछि सुदूरपश्चिममा २८, लुम्बिनीमा २५, प्रदेश १ र गण्डकीमा २०/२० प्रतिशत देखिएको छ । आमनेपालीको आर्थिक स्थितिमा सुधारसँगै खानपान र पोषणका अवस्था सुध्रिँदै गएकाले औसत उचाइमा वृद्घि भएको जनाउँदै शाह भन्छिन्, ‘पहिला फलफूल खान बिरामी हुनुपर्थ्यो । अब मकै, भटमास, मोही, सागसब्जी फलफूल खानुपर्छ भन्ने चेतना बढेको छ । पोषण चेतनाको प्रभाव सकारात्मक देखिएको हो ।’

डब्लूएचओको सन् २०२० को तथ्यांकअनुसार विश्वव्यापी रूपमा ५ वर्षमुनिका १४ करोड ९० लाख बालबालिका कुपोषणले गर्दा पुड्का पाइएका थिए । पोषण खाना खाने, पचाउने, चपाउने, सोसिने तथा शरीरको विभिन्न भागमा भण्डारण प्रक्रियासँग सम्बन्धित हुन्छ । विज्ञहरूका अनुसार शरीरमा पोषक तत्त्वको आवश्यकता र आहारबीचको असन्तुलनका कारण कुपोषण हुन्छ ।

‘नेपालीमा पुड्कोपना घटेर २५ प्रतिशतमा आउनुले मुलुकमा पोषणको स्थितिमा सुध्रिएको सन्देश दिएको छ,’ स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल भन्छन्, ‘पछिल्लो समय आमनेपालीको उचाइ मात्र बढिरहेको छैन, मस्तिष्कको विकासको स्तरसमेत पहिले दाँजोमा राम्रो हुँदै गएको संकेत हो ।’मस्तिष्कको विकास मुख्य रूपले पाँच वर्षसम्म हुने गरेको औंल्याउँदै स्नायु शल्यचिकित्सक डा. वसन्त पन्त कुपोषणले बालबालिकामा पुड्कोपना मात्र नभएर मानसिक क्षमतासमेत जीवनभर प्रभावित हुने बताउँछन् । कान्तिपुरबाट साभार

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार