तनहुँमा एकै युवकले २ बालिकालाई बलात्कार गरेको अभियोगमा १९ वर्ष कैद

२०७९ भाद्र ३०, बिहीबार ११:११ बजे

दमौली : तनहुँको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला भएको छ । तनहुँ जिल्ला अदालतले भानु नगरपालिका–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एक/एक लाख क्षतिपूर्ति दिने फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको बुधबारको इजलासले उक्त दुई वटा छुट्टाछुट्टै बलात्कारको मुद्दामा तामाङलाई दोषी ठहर गर्दै क्रमशः १९ वर्ष र १६ वर्ष छ महिना कैद र क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी हरिशचन्द्र गौतमले जानकारी दिए । दुई मुद्दामा एकैजना अभियुक्त भएको र घटना एकैदिन भएको तथा दुवै मुद्दामा दोषी ठहर भएको हुँदा अधिकतम १९ वर्ष सजायको थप पाँच वर्ष कैद बस्नुपर्ने गौतमले बताए ।

उक्त फैसलाअनुसार तामाङ २५ वर्ष कैद बस्नुपर्ने हुन्छ । तामाङले विसं २०७७ असार ३० गते सुस्तमनस्थिति भएका दुई बालिकालाई बलात्कार गरेको भन्दै पीडितका परिवारले सोही दिन इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेमा उजुरी दिएका थिए । उजुरीपश्चात् प्रहरीले सोही दिन तामाङलाई पक्राउ गरेको थियो। तामाङ जिल्ला अदालतको आदेशमा विसं २०७७ साउन २४ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार