तारकेश्वर नगरद्वारा डेङ्गु नियन्त्रण अभियान सञ्चालन

२०७९ भाद्र ३०, बिहीबार ११:२८ बजे

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ । नगरपालिकाभित्र दिनानुदिन डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो ।

नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेङ्गुु नियन्त्रणका लागि नगरपालिकाले जनचेतना, लामखुट्टे नियन्त्रण, डेङ्गुको परीक्षण र उपचारलाई सँगसँगै अगाडि बढाएको जानकारी दिए । उनका अनुसार तारकेश्वरको फुटुङ, काभ्रेस्थली, नेपालटार, मनमैजु लगायतका क्षेत्रमा डेङ्गुका बिरामी बढी पाइएको छ ।

यस्तै, तारकेश्वरले डेङ्गु नियन्त्रणका लागि जनचेतना सहित माईकिङ गर्नुका साथै सार्वजनिक स्थल तथा विद्यालय क्षेत्रमा पर्चा पम्प्लेट र जनचेनता मूलक सामग्री टाँसेको छ । सो नगरपालिका भित्रका सामुदायिक विद्यालयमा डेङ्गु नियन्त्रणका लागि जनचेतना सहित सरसफाइ कार्यक्रम सञ्चालन, सार्वजनिक स्थानमा कीटनाशक औषधि छर्ने व्यवस्था समेत गरेको छ । यसैगरी, उच्च ज्वरो भएका बिरामीको डेङ्गु परीक्षण गर्न सबै वडाका स्वास्थ्यचौकीमा परीक्षण कीटको व्यवस्था गरेको नगरप्रमुख महर्जनले बताए ।

डेङ्गुका बिरामीलाई सबै वडाका स्वास्थ्यचौकीमा प्यारासिटामोलको व्यवस्था गर्नुका साथै डेङ्गुका सिकिस्त बिरामीका लागि अस्पताल लैजान नगरपालिकामा एम्बुलेन्सको व्यवस्था गरिएको सो नगरपालिकाले जनाएको छ । सीमित स्रोत र साधनका बीच डेङ्गु नियन्त्रणका लागि नगरपालिकाले काम गरिरहेको नगरप्रमुख महर्जनको भनाइ छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार