म्यादी प्रहरीमा आवेदन दिनेको घुइँचो

२०७९ भाद्र ३०, बिहीबार १४:०३ बजे

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुलाएसँगै आवेदकहरूको भीड लागेको छ । आगामी मंसिर चार गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सुरक्षार्थ आवश्यक म्यादी प्रहरीको लागि १ लाख १५ हजार जनाको लागि भर्ना आजदेखि खुलेको छ । भर्ना खुलेसँगै देशभरका प्रहरी कार्यालयमा आवेदन दिनेको भीड लागेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं, टेकुमा बिहानैदेखि युवाहरु लाइन बसेर फारम भरिरहेका छन् । म्यादी प्रहरीमा युवाको आकर्षण देखिएको छ । आवेदन दिनेमा डिग्री होल्डरदेखि आमाहरूसम्म छन् । नेपाल प्रहरी प्रधान कार्यालयले १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरी जागिरका लागि आवेदन दिन पाउनेछन् । प्रहरीका लागि यसअघि नै म्यादी प्रहरी भैसकेका व्यक्तिले प्रमुख प्राथिकता पाउनेछन्। यस्तै पूर्व प्रहरी, सशस्त्र र नेपाली सेनालाई समेत प्राथमिकतामा राखिएको छ ।

म्यादी प्रहरीमा छानिए प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रूपैयाँ प्राप्त हुनेछ । यस्तै खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रूपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन् ।

तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट उपलब्ध हुनेछ। हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई गाढा निलो रंगको कपडाको ज्याकेट खरिद गर्न प्रति व्यक्ति थप १ हजार रुपैयाँ उपलब्ध हुनेछ । निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एकमुष्ट १ हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सय रुपैयाँको दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ।

अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुने नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना छनोट शाखाको भनाइ छ । सेवा अवधि ४० दिनको हुनेछ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार