ऋण काढेर मलेसिया गएका धनवीर सदाका लागि अस्ताए,चार वर्षकी छोरीले दागबत्ती दिईन

२०७९ मंसिर २९, बिहीबार ११:२३ बजे

महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरका धनवीर महतो दुई वर्षअघि मलेसिया जान लाग्दा छोरी आशिका खासै बुझ्ने भइसकेकी थिइनन्। भर्खर बोल्न सिक्दै गर्दा धनवीर बिदेसिए।ऋणको भारीले थिचिएका घरपरिवारका लागि बिदेसिनुपर्ने उनको बाध्यता थियो।

आशिका बुझ्ने भएपछि धनवीरलाई पप्पा (बुवा) भनेर खोज्न थालिन्। त्यतिबेला उनलाई मोबाइलमा भिडियो कलबाट धनवीरलाई देखाएर फकाइन्थ्यो। आशिकासँग हरेक भिडियो कलमा धनवीरको ढाडस हुन्थ्यो, ‘आब चइल एबै बेटा, तोराले कथी आइनदेव’ (अब आइहाल्छु छोरी, तिम्रो लागि के ल्याइदिनु)। बिदामा कोसेलीहरू लिएर घर फर्किने वाचा गरेका थिए धनवीर।

तर, धनवीरले आफ्नी छोरी आशिकाको मात्रै हैन घरपरिवारका सदस्यहरूसँग गरेका वाचा पूरा गर्न सकेनन्। धेरै सपनाहरू बुनेर ऋणको भारीमाथि झन् ऋण काढेर बिदेसिएका धनवीर कात्तिक २९ गते मलेसियामा सदाका लागि अस्ताए। कम्पनीमा मेसिन चेक गर्ने बेला अकस्मात मेसिन चलेपछि त्यसमा च्यापिएर उनको मृत्यु भयो। जहाजमा उडेर मलेसिया पुगेका धनवीरको शरीर मंसिर ९ गते बन्द बाक्समा घर ल्याइयो।

धनवीरलाई आमनेसामने मज्जाले पप्पा (बुवा) भन्ने आशिकाको चाहना तुहियो। आशिका र घरपरिवारलाई धनवीरले बाँडेका आश्वासन र देखाएका सबै सपना चकनाचुर भए। चार वर्षकी आशिका बुवाको दागबत्ती दिएर कात्रो लगाएकी छिन्। धनवीरकी श्रीमती विमल पनि अचेत अवस्थामा छिन्। एकोहोरो हेरिरहन्छिन्। टोलाइरहन्छिन्।

कात्तिक २९ गते बेलुका करिब ५ बजे मलेसियामा सँगै काम गर्ने धनुषाको नक्टाझिजका हीरालाल महतोले धनवीरको भाइ (मामाका छोरा) लाई फोन गरेर उनको मृत्युको घटना सुनाए। लगत्तै उनले धनवीरकी दिदी रीतालाई फोन गरेर घटनाबारे खबर गरे।

भाइको मृत्युको खबर आमा बुवाबाट लुकाउन रीताले खुबै प्रयास गरिन्। तर, केहीबेरमै उक्त घटनाबारे गाउँमा भित्रभित्रै फैलिसक्यो। धनवीरका बुवा पिताम्बर दमका बिरामी छन्। ६८ वर्षीय उनी छोराको मृत्यु भएको खबर सुन्नासाथ बेहोस भए। परिवारका अन्य सदस्यहरूको होसहवास उड्यो। चुनावी रंगमा रंगिएका बिजलपुरा गाउँमा घटनाको खबरले सन्नाटा छायो। घटना सुन्नेहरू निःशब्द भए। कात्तिक ३१ गते मलेसिया उड्ने तरखरमा रहेका धनवीरका कान्छो भाइ शम्भु अक्क न बक्क भए। घटना सुनेलगत्तै उनी टिकट क्यान्सिल गरेर काठमाडौंबाटै घर फर्किए।

धनवीरकी आमा कैलीदेवी छिनछिनमा मुच्र्छा पर्छिन्। ६४ वर्षीया कैली छोराको बाल्यकाल सम्झँदै भक्कानिन्छिन्। बजार–बजारमा तरकारी किनबेच गरेर आमा कैलीले छोरा धनवीरलाई १२ कक्षासम्म पढाएकी थिइन्। धनवीरलाई मात्र हैन सातैजना छोराछोरीलाई पढाउन उनले कुनै कसर बाँकी राखिनन्। चार छोरीपछि जन्मिएका धनवीरमाथि कैलीको ठूलो आशा र भरोसा थियो। छोरा ठूलो भएर गरिबीबाट बाहिर ल्याउने उनको विश्वास थियो। धनवीर पनि १२ कक्षामा पढिसकेपछि गरिबी र घरको जिम्मेवारी बुझ्न थाले। त्यतिबेला उनको घरमाथि झन्डै १५ लाख ऋणको भारी थियो। त्यसपछि उनी आफ्नो पढाइलाई बिट मार्दै कामको खोजीमा लागे। गौशालाको रामनगरमा अवस्थित चिनी मिलमा धनवीरलाई काम लाग्यो।

त्यहाँको कमाइले घरव्यवहार मिलाउन राहत त भयो तर त्यसमा उनले भविष्य देखेनन्। १२ कक्षा पढ्दा पनि उनले कमाउने राम्रो अवसर पाएनन्। धनवीर विदेशको तयारीमा लागे। सबैको सल्लाहमै पासपोर्ट बनाए। ऋणकै भारीमाथि फेरि उनले अढाइ लाख ऋण काढेर मलेसिया उडे। उनी मलेसियास्थित झोरी प्याकेजिङ कम्पनीमा काम गर्न थाले। तीन महिना अघिमात्रै उनी सुपरभाइजर पदमा बढुवा भएका थिए। उनले फुसको घर भत्काएर चार कोठे पक्की घर ठड्याएका छन्। त्यो घर पनि पूर्णरूपले तयार भइसकेको छैन। उनको अहिले पनि १२ लाख जति ऋण छ। ‘यहाँको तुलनामा कमाइ पनि ठीकठीकै थियो। अब घरको सबै दुःख हराउँछ भन्ने लागेको थियो। तर, दैवले हाम्रो सबै खुसी खोसेर लग्यो’, भक्कानिँदै धनवीरकी आमा कैलीले भनिन्, ‘सब बर्बाद भयो। मेरो घरलाई उजाड बनाइदियो। निष्ठुरी दैवले मेरो राजा छोरोलाई हामीबाट बिछोड गराइदियो। हे भगवान् !’

धनवीर गाउँमा रहँदासम्म हरेक सामाजिक कामहरूमा सक्रिय रहन्थे। गाउँटोललाई उज्यालो राख्ने, सफा सुन्दर बनाउनेदेखि लिएर समाजमा जनचेतना फैलाउने गतिविधिमा सहभागी हुन्थें धनवीर। उनी गाउँकै युवा क्लबहरूका सक्रिय सदस्यसमेत रहेका थिए। घरको आर्थिक भारले धनवीर विदेश गए। बेलाबेला फोनमा कुराकानी हुँदा म आएपछि अझ सक्रिय भएर गाउँमा काम गर्नुपर्छ है भनेर भन्ने गथ्र्यो’, स्थानीय युवा देवानन्द सिंहले भन, ‘घटनाले पूरा गाउँ स्तब्ध छ। परिवारले एउटा सदस्यमात्रै हैन हामीले समाजकै एउटा खम्बा गुमाएको बोध भइरहेको छ।’

सरकारले नै युवालाई विदेश जानुपर्ने बाध्यता बनाएको स्थानीय लालेन्द्र सिंह बताउँछन्। सरकार युवालाई विदेश पठाएर रेमिट्यान्समा मोज गरिरहेको उनको आरोप छ। स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्नुपर्छ भन्नेतिर सरकारको ध्यान छैन। नेताहरूले त झन् विदेश जान विभिन्न प्रलोभनहरू देखाइरहेको सबैलाई थाहै त’, आक्रोश पोख्दै सिंहले भने, ‘विदेशमा हुने यस्ता सबै घटनाको जिम्मेवार सरकार र देशका नेताहरू छन्।’ अन्नपूर्ण पोष्टबाट साभार

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार