राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्लाको चंखेली

२०७९ मंसिर २९, बिहीबार १७:१८ बजे

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको चंखेली गाउँपालिकासम्म अब मुगु हुँदै सवारी साधन चल्ने भएका छन्। मुगुको सदरमुकाम गमगढीबाट हुम्लाको चंखेली गाउँपालिका जोड्ने सडक निर्माण भएर सञ्चालनमा आएको हो।

गमगढीदेखि चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडक निर्माण भएर सञ्चालनमा आएको हो।
निर्माण भएको उक्त सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।बेलायती राजदूत निकोला पोलिटले बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सडक आयोजना हस्तान्तरण गरेकी हुन्।

३ हजार ३०० मिटर उचाइमा रहेको चंखेली हिमालको डाँडा पार गरेको बनाइएको यो सडकको ६७ किलोमिटरमध्ये ३३ किलोमिटर मुगुमा पर्छ। ४४ किलोमिटर सडक हुम्ला क्षेत्रमा पर्छ। उक्त दूरीभित्र चार वटा मोटरेबल पुल निर्माण गरिएको छ।

बेलायती सरकारको सहयोगमा सञ्चालित ग्रामीण पहुँच कार्यक्रम–३ मार्फत् मुगुको गमगढीदेखि हुम्लाको चंखेलीसम्मको सडक निर्माण गरिएको हो। उक्त आयोजनामा १ अर्ब ६६ करोड ९३ लाख ५२ हजार रुपैयाँ लागत लागेको छ। हाल सडकको चौडाइ चार मिटर फराकिलो छ।

सडक पहुँच नहुँदा चंखेली गाउँपालिका र आसपासका सवारी साधन भेटाउन मुगुसम्म हिँडेर आउनुपर्ने बाध्यता अन्त्य भएको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए।

उनका अनुसार यो सडकले मुगुको छायाँनाथ रारा नगरपालिाकाका वडा नम्बर १३ र १४ लाई पनि समेट्छ। ‘अब हुम्ला मात्र होइन, मुगुका पनि केही बासिन्दालाई आवतजावत गर्न सहज भएको छ,’ अध्यक्ष शाहीले भने।

सडक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री शाहीले विकासको पहिलो आधार सडक भएकाले यो सडक निर्माणसँगै हुम्लाको थप विकासमा टेवा पुगेको बताए।

बेलायती राजदूतनिकोला पोलिटले गमगढी–देउली हुम्लाबाट मुगुसम्म पैदल पुग्नुपर्ने अवस्थालाई यो सडकले अन्त्य गरेको बताइन्।उनले बेलायतले नेपालमा निर्माण गरेका सडकमध्ये गमगढी–देउली सडक सबैभन्दा लामो दूरीको भएको बताइन्।

२०१८ अक्टोबरदेखि सुरू भएको उक्त सडक निर्माणका क्रममा ४ हजार ४०० बढी स्थानीय श्रमिकलाई रोजगारी पाएका थिए भने तीमध्ये ३५ प्रतिशतभन्दा बढी महिलाहरू सहभागी भएका थिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार