रामचन्द्र पौडेललाई जापानको ‘अर्डर अफ द राईजिङ सन’ सम्‍मान

२०७९ मंसिर २९, बिहीबार १९:४९ बजे

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेको छ ।

सन् २०२० अप्रिल २९ मा घोषणा भएको उच्च पदक ‘अर्डर अफ द राईजिङ सन’ को सम्मान पौडेललाई बिहीबार नेपालका लागि जापानी राजदूत किकुता युताकाले प्रदान गरेका हुन् ।

जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ बिहीबार साँझ वरिष्ठ नेता पौडेलले ग्रहण गरेका छन् । विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स थिए ।

वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानको कदरस्वरुप सम्मान दिइएको हो ।

वरिष्ठ नेता पौडेलले आफू सभामुख रहदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्ष समेत रहेका थिए । उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवर्द्धनमा पनि सक्रिय रूपमा संलग्न थिए ।

जापान र अन्य देशबीचको राजनीति र कूटनीति, अनुसन्धान र शिक्षा, चिकित्सा तथा समाज कल्याण, अर्थतन्त्र र उद्योग, संस्कृति र खेलकुद जस्ता क्षेत्रमा सम्बन्ध प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वलाई पनि यो सम्मान प्रदान गरिन्छ ।

तस्वीरहरु : रासस

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार