संगै डेरामा बस्ने साथीले खाना नपकाएको निहुँमा प्रेसर कुकुरले हान्दा साथीको मृत्यु

२०७९ मंसिर २९, बिहीबार २०:१३ बजे

रुपन्देही : खाना कसले पकाउने भन्ने विषयमा भारतको चंडिगढमा सँगै डेरामा बस्ने साथीबीच झगडा हुँदा एक नेपाली युवकले ज्यान गुमाएका छन् । हत्यामा संलग्न अर्का व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । चंडिगढस्थित किसनगढ गाउँमा दुईजना नेपालीहरु बिच भएको सानो विवादमा कपिलवस्तुका ४१ वर्षीय अमर बहादुर कार्कीले ज्यान गुमाएका हुन् ।

रुपन्देहीको सैनामैना–९ का ५९ वर्षीय चेत बहादुर परियारलाई हत्यामा संलग्न रहेको भन्दै प्रहरीले गिरफ्तार गरेको छ । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वार्ड नम्वर ९ बासगढी, ज्योतिटोल निवासी कृष्ण बहादुर कार्कीको छोरा कपिलवस्तु बाणगंगा–३ गजहेडा बस्ने अमर बहादुर कार्की उर्फ बाबुराम कार्की र रुपन्देही जिल्लाको सैनामैना ९ निवासी टिकाराम परियारको छोरा चेत बहादुर चंडिगढस्थित कैटरिङमा वेटरको काम गर्दथे ।

उनीहरु दुवैजना चंडिगढको किसनगढ गाउँमा एउटै डेरामा भाडामा बस्थे । गएको मंगलबार दुवै जनाको दिउँसो खाना पकाउने विषयमा भएको सानो झगडामा चेतबहादुरले खाना पकाउने प्रेसर कुकर प्रहार गर्दा टाउकोमा चोट लागी घाइते बनेका अमरको बुधवार बिहान ज्यान गएको हो ।

घटनाको जानकारी पाएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य खिमराज चालिसेको नेतृत्वमा नगर अध्यक्ष मान बहादुर केसी र वरिष्ठ सदस्य थमन थापा चंडिगढ आइटिपार्क थानामा पुगी आरोपी चेत बहादुर परियार र मृतकका श्रीमती मिना कार्की र बैनी इन्दु कार्कीसंग छुट्टा छुट्टै सोधपुछ समेत गर्नुभएको थियो । चंडिगढ पुलिसले आज मृतकको शव पोष्टमार्टम गरी परिवारलाई हस्तान्तरण गर्ने र आरोपी चेत बहादुर परियारलाई कस्टडीमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार